माघ ७, चितवन । साङ्ग–बिराट्–श्री गायत्री कोटिहोम ज्ञान महायज्ञको लागि नारायणी नदी किनारमा हवन मण्डप र पञ्च कुण्ड बनाउने काम थालिएको छ । माघ १२ गते वसन्त पन्चमीदेखि फागुन १२ गते सम्म नदी किनारमा हुन लागेको ज्ञान महायज्ञको तयारीका लागि हवन मण्डप र कुण्ड बनाउन लागिएको हो ।
निर्माणधीन कुण्डको शुक्रबार महायज्ञका संरक्षक महेश सन्यास आश्रमका पिठाधिस १००८ स्वामी रमाणानन्द गिरीजीमहाराज र गण्डकी–नारायणी महाआरती परिषद्कावरिष्ठ सल्लाहकार टंकनाथ पौडेल लगायतले निरीक्षण गरेका छन् ।
ब्राह्मणलाई खानपिन तथा आवास र यज्ञको लागि आवश्यक पर्ने हवन कर्ताको व्यवस्था गर्ने कार्य अन्तिम चरणमा पुगेको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेम निधिभारद्धाज कँडेलले जानकारी दिए । उनका अनुसार चरु (हवन सामाग्री) संकलन गर्ने कार्य पनि सुरु भइसकेको छ । विभिन्न आमा समूहहरुले चरु संकलन गर्दै छन् । हवन गर्न आवश्यक पर्ने तिल, जौ, घ्यु, सखर, चामललाई चरु भन्ने गरिन्छ ।
‘यज्ञको तयारी युद्धस्तरमा अघि बढेको छ । दुई÷तीन दिनभित्रै हवन मण्डप र पञ्च कुण्ड तयार भइसक्छ’, उनले भने । हवन कुण्डको बाहिरी घेरामा फलामका डण्डि गाडेर हवन मण्डप बनाउने काम भइरहेको छ ।कोटिहोम ज्ञान महायज्ञमा ब्राह्मणहरुले एक महिनामा एक करोड ४९ लाख ८५ हजार पटक गायत्रीमन्त्र जप गर्नुपर्छ । लाखौँ भक्तजन महायज्ञमा आउने विश्वास लिइएको छ ।
योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा हवनहुनलागेको हो । ‘यो एक युगमाहुने हवनहो । यसै क्षेत्रमा आरती गर्दै आएको संस्थाले महायज्ञ गर्न लागेको हो । चरु संकलनका लागि धेरै भन्दा धेरै आमा समूहलाई परिचालन गरिएको छ । प्रचार प्रसारलाई पनि हामीले तीव्र बनाएका छौँ’, उनले भने ।
श्री सनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा ज्ञान महायज्ञ हुन लागेको हो ।सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको कँडेलले जानकारी दिए । नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनले बताए । कोटिहोमको दर्शन गर्न पाउनु मात्रै पनि महत्वको विषय भएको उनको भनाइ छ ।
नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्वतथा महामण्डलेश्वर आत्मानन्दगिरी, रमणानन्द गिरी, स्वामी जगन्नाथाचार्य, हरिशरण उपाध्याय, किशोरकुमार गौतम आदि नेपालका प्रमुख सन्तमहात्माहरूको संरक्षकत्वमा महायज्ञ हुने आयोजकले जनाएको छ ।