चितवन, माघ ८ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संघीयतालाई सहि तवरले अघि बढाउन आफुले विशेष जिम्मेवारी निर्वाह गर्ने बताउनुभएको छ ।
२८५९ औ सोनाम ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङले आइतबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानमा उल्लेख समावेशी र समानुपातीकको प्रावधानका साथै संघीयतालाई सहि तवरले अघि बढाउन आफुले विशेष जिम्मेवारी निर्वाह गर्ने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको पनि बताउनुभयो । सामान्ती एकतात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझैं जारी रहेका बेला बैदेशिक सांस्कृतिक हस्तक्षेप हुन थालेकाले नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाले वर्तमान सरकारमा तामाङ समुदायका प्रतिनिधित्व गर्नेलाई मन्त्री बनाउने प्रतिवद्धता जनाउनुभयो । ल्होछार पर्व केबल तामाङको मात्रै पर्व नभएको भन्दै उहाले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि भएको धारणा राख्नुभयो ।
सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार ल्होछार मनाउँदै आएको पाइन्छ ।