चितवन, माघ २८–

भरतपुरको गेष्ट हाउस चौरमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगरपालिका मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई चितवन भेट्रान फुटबल क्लब भरतपुर–७ ले आयोजना गरेको हो । प्रतियोगिताको आज भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर अधिकारीले खेललाई खेलको रुपमा मात्रै सिमित नगरी ब्यबहारमा उतार्नु पर्नेमा जोड दिए । उनले खेलकुदको क्षेत्रमा भरतपुर महानगरपालिका अग्रणी स्थानमा रहेको उल्लेख गर्दै खेलकुदकर्मीहरुले यसको बढी भन्दा बढी फाइदा लिन सबैमा अपिलसमेत गरे ।

भरतपुर महानगरपालिकाले विकास सँगसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको उनले प्रष्ट पारे । स्वास्थ्य जीवनयापनका लागि अन्य क्रियाकलापहरु जस्तै खेल पनि एक महत्वपूर्ण अंग भएको उपमेयरको विचार छ ।

आगामी फागुन ४ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतको कोलकत्तासहित नेपालबाट आयोजक चितवन भेट्रान निलो, चितवन भेट्रान रातो, अभिषेक चर्च भेट्रान रजहर, नागासोती भेट्रान क्लब हेटौँडा, सिमरा भेट्रान सिमराले सहभागिता जनाएको क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भूपू सैनिक जबई स्पोर्टिङ, एक्स महेन्द्र पुलिस क्लब, बगरभाइ खलक भेट्रान, हेटौँडा भेट्रान, फ्रेण्ड्स भेट्रान, दरबार भेट्रान नुवाकोट र थापागाउँ सुधार समिति सहभागी हुने क्लबले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहका शीर्ष टोली फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैयाँ र उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँच–पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी सहभागी हुने छन् ।