२० चैत, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यको हरेक निकायमा महिलाको प्रतिनिधित्वका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

सोमबार ललितपुरमा सञ्चारिका समूहको २६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री शर्माले कानुनमा बाध्यकारी व्यवस्था नभएसम्म महिलाले अवसर पाउने अवस्था नभएको उल्लेख गर्दै यसका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो । उहाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको उदाहरण दिदै कानूनमा रहेका केहि छिद्रका कारण महिलाको अधिकार खोसिने समस्या उत्पन्न भएको जिकिर गर्नुभयो । मन्त्री शर्माले सञ्चारमाध्यममा महिलाहरुले भोग्नुपरेका समस्याहरुलाई समाधानका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा अग्रज सञ्चारकर्मी लगाएत बिभिन्न सञ्चारकर्मीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।