भरतपुर, १५ असार ।
पत्रकार विवेक पोख्रेल युवा आधुनिक सामूहिक खेती फर्मको प्रथम कृषि सम्मान पुरस्कार– २०८० बाट सम्मानित भएका छन्। नयाँ पत्रिका राष्ट्रिय दैनिकमा पाँच वर्षदेखि कार्यरत पोख्रेललाई किसानमा समर्पित पत्रकारिता सेवामा महत्त्वपूर्ण योगदान पु¥याएबापत २०औँ राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको अवसरमा सम्मान गरिएको हो। भरतपुर– २० मा नेपाल समाजवादी महासंघ, युवा आधुनिक सामूहिक किसान फर्म र साकम्भरी ताजा तरकारी कृषि सहकारी संस्थाले संयुक्त रूपमा आयोजित महोत्सवमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र युवा आधुनिक सामूहिक खेती फर्मका अध्यक्ष अधिवक्ता लेखनाथ भुसालले खादा ओडाएर प्रमाणपत्र र नगद १० हजारसहित पोख्रेललाई सम्मान गरेका हुन्।
भरतपुर– २५ रहेको युवा आधुनिक सामूहिक खेतीले यसै वर्षदेखि कृषि सम्मान पुरस्कारको सुरुवात गरेको छ। ०७७ सालमा स्थापना भएको सो फर्ममा २५ युवाले सय बिघाभन्दा बढी जग्गामा खेती गर्दै आएको संस्थाका सचिव सुमन सुवेदीले जानकारी दिए। उनले कृषि सम्मान पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै जाने बताए। कृषिलगायतका विषयमा चितवनबाट पत्रकारिता गर्दै आएका पोख्रेलले कृषि सेरोफेरो र डेरी चौतारी रेडियो कार्यक्रसमेत उत्पादन गर्दै आएका छन्। जुन किसानको विचमा लोप्रिय मानिन्छ । पोख्रेल पश्चिम चितवन पत्रकार मञ्चका सह सचिव समेत हुन् ।