काठमाण्डौं, साउन ७ ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका निर्देशक शंकर घिमिरेले पुनः फिल्म निर्माण गर्ने भएका छन् । निर्देशक घिमिरेले अभिनेता विपिन कार्कीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘तेल भिसा’ निर्माण लागेका हुन् । घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा विपिन अनुबन्धित भएका छन् ।

आगामी तिहारपछि नेपाल र अमेरिकामा छायांकन हुने जनाइएको फिल्ममा अभिनेता कार्की दोहोरो भूमिका हुनेछ । सोसल–कमेडी ड्रामा जनरामा बन्न लागेको फिल्मले सुत्केरी स्याहार्न अभिभावकलाई अमेरिकामा बोलाइने प्रवृत्तिलाई कटाक्ष गर्नेछ । सोही प्रवृत्तिलाई व्यंग्य गर्दै ‘तेल भिसा’ नामाकरण गरिएको स्रोतले जनाएको छ । यो फिल्मका लागि विपिनले अहिलेसम्मकै महंगो पारिश्रमिक लिएको चर्चा पनि छ । लिड एक्ट्रेस र अन्य कलाकार चाँडै सार्वजनिक हुने जनाइएको छ ।

घिमिरेले निर्देशन गरेको पछिल्लो फिल्म ‘तुलसी’ २०७६ सालमा रिलिज भएको थियो । त्यसअघि उनले ब्रेकफेल, वीरताको चिनो र विष निर्देशन गरेका थिए । घिमिरे अभिनेत्री ऋचा घिमिरेका श्रीमानसमेत हुन् ।