गुञ्जनगर, १७ भाद्र । सोच परिवर्तन नेपाल र चितवन आवाजको संयुक्त आयोजनामा तिन दिने निशुल्क उद्घोषण तालिम आइतबार बाट गुञ्जनगरमा सुरु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर १८ का वडाअध्यक्ष बाबुराम रानाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै रानाले बोल्नेको पिँठो नि बिक्छ नबोल्नेको चामाल पनि बिक्दैन भन्दै आजको समय भनेको बोल्नेको समय रहेको बताउनुभयो । अझै पनि सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस किसिमको तालिमहरू आयोजना गर्न पनि वडाअध्यक्ष रानाले आग्रह गर्नुभयो । अझै
उपयोगी र सिर्जनशील कार्यक्रम सञ्चालन गरेमा वडाले सधैँ साथ र सहयोग गर्ने पनि उहाँले बताउनुभयो । कुनै पनि कार्यक्रम संचालन गर्न तथा भाषण गर्न र खुलेर
आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कंडेलले बताउनुभयो । क्षमता बिकास गर्ने हाम्रो प्रमुख उदेश्य भएको र उदेश्य पक्कै पूरा हुने भन्दै सबैलाई तालिमबाट सक्दो लाभ उठाउन समेत कंडेलले आग्रह गर्नु भयो । कार्यक्रममा मुस्कान लाइफ समुहका अध्यक्ष घनश्याम ढकाल, न्यायिक समिति सदस्य सुर्य ढकाल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । चितवन आवाजका सञ्चालक विनोद अधिकारीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा सुस्मिता न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको भने चितवन आवाजकी संवददाता निशा थापा मगरले सहजिकरण गर्नुभएको थियो । तालिममा ३० जना भन्दा बढीको सहभागिता रहेको आयोजकले बताएको छ । भाद्र १७ गते देखी १९ गतेसम्म सञ्चालन हुने तालिमको पहिलो दिनमा संजय देवकोटाले प्रशिक्षण दिनुभएको
थियो ।