कार्तिक २०, चितवन । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गर्दै ग्रामिण क्षेत्रमा वृक्षारोपण गर्न सुरु गरेको छ । भरतपुरको वडा नम्बर १८ मा सोमबार वृक्षारोपण गरी अभियानको सुरुवात गरिएको हो । ग्रामिण अभियानको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वृक्षारोपण गरेर उद्घाटन गर्नुभयो । यस्तै भरतपुर १८ र १९ को सिमानामा बनेको प्रवेशद्वारको पनि प्रमुख दाहालले उद्घाटन गर्नुभयो । भरतपुर भ्रमण वर्षलाई भव्य बनाउनका लागि महानगरले हरियाली प्रर्वद्धन तथा सरसफाई कार्यक्रमलाई महानगरदेखि वडास्तरसम्म अभियानलाई अगाडि बढाएको छ ।भरतपुरमा ६५० किमी सडक कालोपत्रे भईसकेकाले महानगरले सडकको दायाँ बायाँ वृक्षरोपण गर्ने कार्यलाई प्राथामिकतामा राखेको छ । वृक्षरोपणको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले भरतपुरका २९ वटै वडामा वृक्षारोपणलाई अगाडि बढाइने उल्लेख गर्नुभयो । उहाँले टोल विकास संस्था र सामाजिक संघ संस्थालाई वृक्षारोपणमा सहयोग गर्न अपिल गर्नुभयो । सो अवसरमा प्रमुख दाहालले कच्ची रहेका सडकको निर्माण कार्यलाई धुलोमुक्त बनाउन महानगरपालिका प्रयासरत रहेको बताउनुभयो । कार्यक्रममा भरतपुर वडा नम्बर १८ का अध्यक्ष बाबुराम रानाले भ्रमण वर्ष सफल बनाउन वडामा वृक्षारोपण तथा सरसफाई गर्ने कार्यलाई निरन्तर अगाडि बढाएको बताउनुभयो । भरतपुर १८ लाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी विभिन्न गतिविधि गर्ने उल्लेख गर्नुभयो । लक्ष्मी सनराईज बैकको सामाजिक उत्तरदायित्व अन्र्तगत विरुवा तथा रिङ उपलब्ध गराएको थियो । भरतपुर महानगरले यस अघि बजार क्षेत्रमा वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गर्दै आईरहेको थियो । महानगरले झण्डै ५ करोड रुपैयाँ हरियाली प्रर्वद्धनका लागि बजेट विनियोजन गरेको छ ।