मंसिर ९, रत्ननगर । चितवनको आर्थिक विकास गर्ने उद्देश्यले पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आयोजना हुँदै आएको रत्ननगर महोत्सव २०८० को तयारी सुरु गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले दुई दुई बर्षमा आयोजना गर्दै आएको महोत्सवको यस पटक १२औं संस्करण हो । महोत्सव पौष २६ गते देखि माघ ८ गते सम्म सञ्चालन हुने छ । महोत्सवको तयारी स्वरुप स्टलबुकिङ खुल्ला सहित आन्तरिक व्यवस्थापनको काम सुरु गरिएको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष गिरी संयोजक रहेको मुल व्यवस्थापन समिति र अन्य विभिन्न उप समिति बनाएर काम अगाडि बढाइएको छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइनेछ । स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने संघका अध्यक्ष गिरीले जानकारी दिनुभयो । महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक छलफल गरिने उहांले बताउनु भयो । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार–व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला सँस्कृतिको प्रदर्शन, स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउन पाँच सय वटा स्टल रहने छ । महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश र चीनका प्रदर्शकहरुले विभिन्न प्रविधिहरुको प्रदर्शन समेत हुने संघका अध्यक्ष गिरीले जानकारी दिए । महोत्सव अन्तर्गत फुड फेष्टिवल समेत आयोजना हुने छ ।