पौष १, रत्ननगर ।रत्ननगर । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नदी तथा वनमा आश्रित विपन्न समुदायका युवाहरुको लागि सौराहामा आइतबार देखि सीपमुलक तालिम सुरु गरिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र सपना भिलेज सोसियल इम्प्याक्टको सयुक्त आयोजनामा कफि बारिस्ता, हस्पिटालिटी तथा कफि मेसिन मर्मत बनाउने तालिम सुरु गरिएको छ । दुई संस्थाको ५० / ५० प्रतिशत गरी १३ लाखको लगानीमा ४९ जना युवाहरुको लागि तालिम सुरु गरिएको हो । सौराहामा आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधि सभा सांसद हरि ढकालले सो तालिमको उद्घाटन गरेका छन् । पछिल्लो समय कफीको बजार बढ्दै गएको कारण यसबाट रोजगारी र्सिजना हुने सम्भावना देखिएपछि तालिम सुरु गरिएको सपना भिलेजका अध्यक्ष ध्रुब गिरिले जानकारी दिए । आर्थिक अबस्था कमजोर भएका युवाहरुलाई सीप मुलक तालिम दिएर रोजगारीको अबसर सृजना गर्ने र उनीहरुलाई विदेश जानबाट रोक्ने उद्देश्यले तालिम दिइएको उनको भनाई छ । तालिम लिएका युवाहरुलाई व्यवसाय सञ्चालनको लागि सहयोग गर्ने भन्दै सौराहामै यसको सम्भावना रहेको गिरीले बताए । हामीले सम्भावनाको खोजी गरेरै तालिम आयोजना गरेका हौं उनले भने तालिम लिएका युवाहरुले सौराहामै व्यवसाय सञ्चालन गर्न सक्ने अबस्था रहेको छ ।

४५ दिने सो तालिममा आधुनीक कफि बनाउन सिकाउने, होटलमा पाहुनालाई गर्ने स्वागत र सत्कार तथा कफी मेसिन मर्मत गर्न सिकाइने छ । सपना कफी रिसर्च एण्ड ट्रेनिङ सेन्टरका सुदिप भट्टराई र लोकनाथ रिजालले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिनेछन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद ढकालले राजनीतिक बेतिथिका कारण युवा शक्ति विदेशिने क्रम बढिरहेका बेला सौराहामा आयोजना गरिएको तालिमले रोजगारी र्सिजना गर्ने बताए । उनले कफि बारिस्ता बनाउने तालिम लिएका ४९ जना युवाहरुलाई व्यवसाय सञ्चालनको लागि सहयोग गर्ने बताए । कार्यक्रममा संस्थापक मेयर नारायण वनले मध्यवर्तीका युवाहरुको लागि आयोजना गरिएको तालिम फलदायी हुने विश्वास व्यक्त गरे । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगानाले समाज आयआर्जन मार्फत युवाहरुलाई संरक्षणमा जोड्नु पर्नेमा जोड दिए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले सीप मुलक तालिम मार्फत दीगो आयआर्जनको आधार तयार गरिने बताए । सपना भिलेजसंगको सहकार्यमा मृगकुञ्जले यस अघि २० जना महिलाहरुलाई नेचर गाइड र ४४ जना मुसहर महिलाहरुलाई दिएको तरकारी खेती तालिमले प्रतिफल प्राप्त गरेको भन्दै कफि बारिस्ता तालिम पनि फलदायी हुने बताए  कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महतो, चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख शान्ताबहादुर रानामगर, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ लगायतले मन्तव्य राखेका थिए । मृगकुञ्जका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम कार्यसमिति सदस्य सरस्वती लामाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा मृगकुञ्जका कार्यसमिति सदस्य बद्धिमान विकले स्वागत मन्तव्य राखेका थिए ।