,पौष ९, सौराहा । तस्विर: कोमल चन्द्र भगत । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबारबाट सुरु हुने १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजनामा हुने महोत्सवको नेपाल सरकारका अर्थमन्त्री डा. प्रकास शरण महतले उद्घाटन गर्ने जनाइएको छ । महोत्सव सुरु हुनुपूर्व सौराहामा विहान शोभा¥याली निकालिने आयोजकले जानकारी दिएको छ ।
चितवन हात्ती महोत्सवमा सञ्चालन गरिदै आएको गतिविधिलाई परिमार्जित गर्दै यस वर्ष यहाँका व्यवसायीहरुले पर्यटन महोत्सव आयोजना गरेका हुन ।
पर्यटन विकासको लागि पौष १० गते देखि १४ गते सम्म रत्ननगर नगरपालिका वडा नं. ७ मा रहेको मैनाहाचौरमा महोत्सव हुंदैछ । चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औं संस्करण सुरु गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । यस बर्षको पर्यटन महोत्सवको मुख्य आर्कषण हात्ती सुन्दरी प्रतियोगिता रहेको अध्यक्ष गिरीले बताए ।
महोत्सवलाई आर्कषक बनाउन यहाँका व्यवसायीहरुले चित्रसारी पुलदेखि नै सौराहालाई सजाएका छन् । महोत्सव स्थललाई ध्वजापतकाले सजाइएको छ ।
कोभिड १९ का कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन् । २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको संघका अध्यक्ष गिरीले जानकारी दिए । चालु आर्थिक बर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । ति मध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अबलोकन गरेको तथ्याङ्कले देखाएको छ ।
कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरुले पर्यटकिय गतिविधि सुरु गरेका हुन् । साविकको हात्ती महोत्सवलाई परिमार्जन गरी यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ ।
पाँच दिन सम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती श्रृगार प्रतियोगिता, हात्ती बनभोज र डुंगा दौड प्रतियोगितालाई यथाबत राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासंगै चितवनको पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम राखिएको छ । खस्किएको चितवनको पर्यटनलाई माथी उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिए । महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसंग विटुवी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरुको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्बधनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताए ।
महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासका योगदान दिएका अग्रज, उत्कृष्ट नेचरगाइड, संरक्षणकर्मी, माउते, डुंगा चालक, जीप सफारी चालक तथा सीप र कलाप्रेमीहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रर्बद्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।