पौष १३, गैंडाकोट । गैँडाकोट । धार्मिक सेवा समिति मौलाकालिकाको ४४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले भक्तजनको सेवा र सुविधाका लागि खानेपानीको व्यवस्थापन, गौशाला व्यवस्थापन, आवास व्यवस्थापन, गुरुकुल निर्माणका लागि मन्दिरले गुरु योजना अनुरुप अघि बढीरहेको बताउनुभयो । आगामी ५० वर्षमा हामी कसरी अघि बढ्ने भन्ने सन्दर्भमा थप गुरु योजना निर्माण गरेर अघि बढ्ने मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका सचिव श्यामसुन्दर पराजुलीले मन्दिरले धार्मिक जागरणका लागि संस्कृत गुरुकुल निर्माण गरि अघि बढीरहेको बताउनुभयो । अहिले सञ्चालन भइरहेको केवलकारलाई देवघाट जोड्ने र धार्मिक पर्यटकीय क्षेत्र निर्माणका लागि मन्दिरले सकरात्मक भूमिका खेल्ने सचिव पराजुलीले बताउनुभयो । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका कोषाध्यक्ष सुवनप्रसाद ढकालले धार्मिक सेवा समितिले आर्थिक वर्ष २०७९÷८० मा मन्दिरको कुल आम्दानी २ करोड ६० लाख ३० हजार ७ सय ५१ रुपैंया र कुल खर्च २ करोड ५० लाख ३६ हजार २ सय ७ रुपैँया रहेको जानकारी दिनुभयो । मन्दिरले अहिलेसम्म गुरुकुल र मन्दिर दुबै तर्फ गरि ३ करोड १४ लाख २५ हजार रुपैँयाको अक्षयकोष बनाएको छ । मन्दिरद्वारा सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ (गुरुकुलम) का अध्यक्ष हरिप्रसाद सापकोटाले अहिले कक्षा ६, ७, ८ सञ्चालनमा रहेको गुरुकुलमा अब कक्षा ९ थप्ने गरि योजना बनिरहेको अध्यक्ष सापकोटाले बताउनुभयो । आन्तरिक लेखा समितिका संयोजक शोभाकान्त काफ्ले संयोजकत्वको लेखा समितिले गणेश मन्दिर, कृष्ण मन्दिर, सिद्धेश्वर महादेव मन्दिर समेतलाई धार्मिक पर्यटकीय विकासमा समेटेर अगाडी बढ्न गणेश मन्दिरदेखि केबलकार प्रस्थान स्थलसम्म भक्तजनहरु तीनपाङ्ग्रे सवारी साधनमा ओहोरदोहोर गर्न मिल्ने गरी बाटो निर्माण गर्नुपर्ने सुझाब दिएको छ ।
काशिनाथ कंडेल नेतृत्वको अनुगमन तथा मूल्याङ्कन उपसमितिको प्रतिवेदनले मौलाकालिका केवलकार र धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका बीचमा हुनुपर्ने विविध सहमतिका बारेमा स्पष्ट नीति बनाइ मन्दिरको साख बढाउन सुझाब दिएको छ । गैँडाकोट क्षेत्रभित्रका विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका सल्लाहकार, पूर्व अध्यक्षहरु, जनप्रतिनिधिहरु, आजिवन तथा साधारण सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले सबैलाई आशिर्वचन प्रदान गर्नुभएको थियो । वैदिक सनात धर्म संस्कार संस्कृतिको जग नै नेपाल र नेपालीको पहिचान भएकाले धर्मसंस्कार र संस्कृतिको संरक्षणका लागि सबै एकजुट हुन आग्रह गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई मन्दिरका उपाध्यक्ष खगेन्द्रदास कंडेलले स्वागत गर्नुभएको थियो ।