पौष २२, चितवन । तस्विर: कोमल चन्द्र भगत । चितवनमा आज (आइतबार) बाट चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरा लगायतका क्षेत्रबाट एकै चोटी चरा गणना सुरु गरेको हो । वर्ड एजुकेसन सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि चितवनमा आजबाट सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ । पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । यसपछि पश्चिम चितवनमा सुरु गरिने उनले जानकारी दिए।

आजदेखि शुरु भएको चरा गणना आगामी माघ ७ गतेभित्र गरिसकिनेछ । गणनाका लागि विभिन्न समूह निर्माण गरी कामलाई अघि बढाइएको गिरीले बताए । पश्चिम चितवनको दिव्यनगर, कसरा पुलबाट पश्चिम र रिउखोलामा पूर्वी चितवनको गणना सकिएलगत्तै गरिने छ । बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरलगायतको प्रयोग गरी चरा गणना गरिने उनले बताए । जिल्लामा ६ सय ५० भन्दा बढी प्रजातिका चरा पाइन्छ । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।