माघ १५, चितवन । चितवन जिल्ला क्रिकेट संघ र भरतपुरको बाह्रघरेस्थित क्यासी स्पोर्ट्सको संयुक्त आयोजनामा आगामी शनिबारदेखि ुकिड्स क्याम्प २०८० योजना गर्ने सम्झौता भएको छ । आज क्यासी स्पोर्ट्सको परिसरमा एक पत्रकार सम्मेलन गरी दुबै पक्षले किड्स क्याम्प २०८० सन्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ८ वर्षदेखी १४ बर्षसम्मका बालबालिकाहरुलाई करिब ८ सेसन प्रशिक्षण दिइने क्यासी स्पोर्ट्सका म्यानेजर चेतन थापाले बताए । हरेक शनिबार र सार्वजनिक बिदाको दिनमा हुने सेसनमा क्रिकेटका सर्टिफाइड प्रशिक्षकबाट प्रशिक्षण गराइने र हरेक सहभागीको दुर्घटना बिमासमेत गरिने उनले बताए । सहभागीले १ हजार ७ सय ५० रुपैयाँ सहभागीताबापतको शुल्क बुझाउन पर्ने उनले बताए ।
विगतमा क्याम्पाचौरमा आयोजना गरिदै आएको किड्स क्याम्पको निरन्तरता स्वरुप किड्स क्याम्पलाई इन्डोर भेन्युमा संचालन गर्न लागिएको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले बताए । आउटडोरमा प्रशिक्षण गराउदा भोग्नुपरेको कठिनाइहरु इन्डोरमा नहुने भएकाले पनि बालबालिकाको सहभागीता उल्लेख्य हुने विश्वास आफुहरुले लिएको उनले बताए । करिब ५० भन्दा धेरै बालबालिकाको सहभागीता रहने क्याम्पमा पहिलोपटक बलिङ्ग मेसिनको समेत प्रयोग गरिने उनले बताए ।
स्थापनाको छोटो समयमा खेलकुद प्रेमीहरुको मन जित्न सफल भएको क्यासी स्पोर्ट्समा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको फुटसल, क्रिकसल, इन्डोर स्वीमिङ्ग पुल लगायत खेलकुद संरचनाहरु रहेका छन् ।