फागुन ९, रत्ननगर । तस्विर : कोमल चन्द्र भगत । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरमा उपचार गराउन आउने बिरामीको संख्या निरन्तर बढ्दै गएको पाइएको छ । केन्द्रले बुधबार स्थानीय पत्रकारसँग गरेको अन्तर्क्रिया कार्यक्रममा दिइएको जानकारीअनुसार चालू आर्थिक वर्षको छ महिनामा २४ हजार तीन जना बिरामीले कार्यालयबाट विभिन्न सेवा लिएका छन् । बहिरङ्ग चिकित्सा सेवामार्फत सबैभन्दा बढी ७ हजार ७ सय ९१ जनाले सेवा लिएका छन् । यसैगरी, योग सेवा २ हजार ६ सय १०, पूर्वकम÷पञ्चकर्म सेवा ५ हजार ५ सय २७, ज्येष्ठ नागरिक सेवा १ हजार ९ सय ७५, स्तनपान आमा तथा शिशुसेवा १२०, नागरिक आरोग्य स्वास्थ्य सेवा २ हजार ७ सय ७९, प्रयोगशाला सेवा २ हजार ५ सय ४४, अकुपञ्चर सेवा ३३५, फिजियोथेरापी सेवा २८२ र अल्ट्रासाउन्ड सेवा ४० जनाले लिएको डा. कोपिला अधिकारीले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा यी सबै सेवा लिनेको संख्या ४९ हजार ५ सय १३ थियो । केन्द्रका अतिरिक्त औषधालय, नागरिक आरोग्य सेवा केन्द्रहरु र जीवनशैली सेवामार्फत जिल्लाभरि सेवा दिँदै आएको छ । भरतपुरको शिवघाट, देवघाट, गुञ्जनगर, पटिहानी, मेघौली र डालेटारमा आयुर्वेद औषधालय रहेका छन् । यसका अतिरिक्त माडी र राप्तीको वीरेन्द्रनगरमा यी सेवा रहेका छन् । कालिका नगरपालिकाको सगुनटोल, खैरहनी नगरपालिकाको कुमरोज र इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा नागरिक आरोग्यसेवा केन्द्रहरु सञ्चालनमा छन् । केन्द्रले मुख्यमन्त्री जनता स्वास्थ्य, प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, स्वास्थ्य जीवन प्रवद्र्धनलगायत कार्यक्रम गर्दै आएको छ । यसैगरी, योग तथा पूर्वकर्म अभिमुखीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, कर्मचारी पुनःताजगी योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको डा. अधिकारीले जानकारी दिनुभयो ।
केन्द्रले नमुना जडीबुटी उद्यान निर्माण, विद्युत् आयुर्वेद तथा योग शिक्षा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, नागरिक आरोग्यसेवा तथा अभियान, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धनजस्ता कार्यक्रम पनि गर्दै आएको छ । केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद औषधि उपचारको व्यापक प्रचारप्रसार गर्नसकेमा यसले मानवस्वास्थ्य उपचारमा सहयोग पुग्ने बताए । केन्द्रको भौतिक पूर्वाधार र सेवा विस्तारसँगै बिरामीको आकर्षण बढेको उहांको भनाइ छ । केन्द्रलाई आगामी साउनदेखि २५ शैयाको अस्पतालको रुपमा विकास गरिँदै छ । हाल केन्द्रको अस्पताल भवन निर्माणाधीन छ । यससँगै विशेषज्ञ चिकित्सकसहितको दरबन्दी थप हुने र अन्तरङ्ग सेवा सुरू हुनेछ ।