फागुन ९, काठमाण्डौं । काठमाडौँको नागार्जुन नगरपालिका–६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।
सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको शव पनि घरभन्दा केही पर जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजी विककै हात रहेको अनुमान गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । घटनाको थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।