११ फागुन, चितवन । एक सिजन मात्रै खेती हुने चितवनको हरैया क्षेत्रमा यसपटकदेखि भने चार सिजनसम्मै खेती लगाउन पाइने भएको छ । किनकी यहाँ भूमिगत पानीबाट सिँचाइ सुविधा पुगेको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना अन्तर्गत उपभोक्ता समितिमार्फत बनेको गौरवशील हरैया डिप ट्युबवेलको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बिहीबार उदघाटन गरेकी छन् । कार्यक्रममा गाउँलेहरुले पञ्चैबाजा बजाएर नाच्दै खुशियाली मनाए । छमछमी नाचेका भरतपुर महानगरपालिका–१७ का मानबहादुर बस्नेतले भने, ‘बर्खामा धान हुन्थ्यो त्यो पनि भदौतिर, त्यसपछि खासै खेती हुन्थेन, सुख्खा थियो, अब भने सबैतिर सिंचाइ गर्न सकिने डिप ट्युबवेल बन्यो, खेती उब्जाउ गर्न सजिलो हुने भयो । अब धेरै सुविस्ता हुने देखेँ ।’महानगर प्रमुख दाहालले बिहीबार भरतपुर–१७ मा बनेको २ वटा डीप ट्युबवेल र १८ स्यालो टयुबवेलको उद्घाटन गरेकी छन् । समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम अन्तर्गत चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको २ करोड ९३ लाखको लागतमा वडा नं। १७ मा मात्रै २० वटा ट्युबवेल सञ्चालनमा आएका छन् । १ डीप ट्युबवेल निर्माणको चरणमा छ । १७० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने आयोजनाबाट ३ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । वडा नं। १७ का ४÷५ सय बिघा बञ्जर जमिनमा सिँचाइ सुविधा पुगेको स्थानीय प्रकाश खड्काले बताए ।भरतपुर महानगरपालिकामा भूमिगत सिँचाइ कार्यालयबाट ५० वटा डीप ट्युबवेल र ३३० वटा स्यालो ट्युबवेल तथा महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ ।
अर्का स्थानीय बुद्धिबहादुर देवकोटाले गाउँघरमा डीप तथा स्यालो ट्युबवेल बनेपछि किसानहरूमा खुसीयाली छाएको बताए । उनका अनुसार निजी लगानीमा पहिला खनिएका साना बोरिङबाट किसानहरूले सिंचाइका लागि घण्टाको ४ सय रुपैयाँ तिर्नुपर्नेमा सरकारी तहबाट डीप ट्युबवेल बनेपछि पैसा बचत हुनेछ । डीप ट्युबवेलबाट २ घण्टामा नै ५÷६ विघा भिजाउन सकिने देवकोटा बताउँछन् । अर्का स्थानीय सूर्यहरि मरहट्टाले पहिले बर्खामा मात्रै धान खेती गर्ने किसानहरूले यसपटक चैते धान लगाउने तयारी गरेको बताए । डीप ट्युबवेल बनेपछि बेमौसमी तरकारी खेती र अन्य हिउँदे बाली लगाउन धेरै सजिलो भएको भन्दै किसानहरूले आफ्नो जमिनको अधिकतम सदुपयोग गर्न सक्ने मरहट्टाले बताए । स्थानीय विश्वनिधि पौडेल, जीवनराम महतो र खड्कबहादुर थापामगरले ट्युबवेलका लागि जग्गा दान गरेका थिए । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना प्रमुख देवकुमार स्याङ्बोले एक डीप ट्युबवेलबाट ४० बिघा र स्यालो ट्युबवेलबाट ४ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने बताए । उनले सुख्खा रहेको पश्चिम चितवनमा ६ महिना मात्रै खेती हुने र ६ महिना बाँझै बस्ने जमिनमा अहिले १२ महिना नै सिँचाइको सुविधा पुर्याउन सकिएको बताए । उनले विदेश जाने युवाहरूलाई स्वदेशमा नै व्यवसायिक कृषि तथा पशुपालन गरेर बस्न र मनग्य आम्दानी गर्न सिँचाइले ठूलो टेवा पुगेको आफूले पाएको बताए । चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सतह सिँचाइ नभएको ठाउँमा महानगरपालिकाले भूमिगत सिँचाइको व्यवस्था गरेर किसानहरुको उर्वर जमिनलाई उत्पादनशील बनाएको बताए । भरतपुर महानगरपालिकामा भूमिगत सिँचाइ कार्यालयबाट ५० वटा डीप ट्युबवेल र ३३० वटा स्यालो ट्युबवेल तथा महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ । महानगर प्रमुख रेनु दाहालले महानगरपालिका भित्र मात्रै ७ हजार बिघामा भूमिगत सिँचाइ सुविधा उपलब्ध भैसकेको बताइन् । ‘देख्दा नै विरक्त लाग्ने, उराठ र तातो हावा चल्ने पश्चिम चितवनका ठूलठूला फाँटहरूमा अहिले सिँचाइ सुविधा पुगेको छ’, उनले भनिन्, ‘हिजोआज हरियाली थपिएको छ, माटोमा चिस्यान छ, किसानको मुहारमा खुसी थपिएको छ, वर्षमा चार बाली लगाउन सक्ने अवस्था आएको छ ।’ नारायणी लिफ्टलाई हिउँदमा समेत चलाउन नयाँ उपकरणहरु जडान गरिएको र परियोजना अन्तिम चरणमा पुगेको उनले बताइन् । भरतपुरमा भएका ट्युबवेलबाट किसानहरूले कुल ६ हजार १२० विघा क्षेत्रफलमा सिँचाइ सुविधा प्राप्त गरेका छन् । यो बाहेक नारायणी लिफ्ट सिँचाइ आयोजना र केरुङ्गा जल सिँचाइ आयोजनामार्फत भरतपुरका कृषकले सिँचाइ सुविधा लिइरहेका छन् । झापा र चितवन जिल्लामा भूमिगत संयोजनात्मक जल सिँचाइका चार अर्ब रुपैयाँका परियोजना सञ्चालित छन् ।