१५ फागुन, चितवन । कोमल चन्द्र भगत ÷ अंकित भगत ।

 

मध्य नेपालको सुन्दर शहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर “घुमौं भरतपुर ” भन्ने नाराका साथ भरतपुर महानगरपालिकाको आयोजना तथा निजी क्षेत्र समेतको सहभागितामा आह्वान गरिएको भरतपुर भ्रमण बर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ । आज ( मंगलबार) पत्रकार सम्मेलको आयोजना गरी सो को जानकारी गराएको हो । यही फागुन १८ गते नारायणी नदी किनारमा आयोजना गर्न लागिएको भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहको भव्य रुपमा गरिने बताएको छ । े सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ बजे भरतपुर भ्रमण बर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्रीज्यूहरू, संघीय सरकारका मन्त्रीज्यूहरू, प्रदेश प्रमुखहरु, प्रदेशका मुख्यमन्त्रीहरु, प्रदेश मन्त्रीहरू, संघ तथा प्रदेशका सांसदहरु लगायत विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको जनाएको छ ।

करिव ५० हजार जनसमुदाय सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न सांस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ । महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षहरुको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन्। “घुमौं भरतपुरू भन्ने नाराका साथ आयोजना गर्न लागिएको भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरु गठन गरी कार्य विभाजन सहितको जिम्मेवारी प्रदान गरिएको छ । भ्रमण बर्षको तयारीका सर्दभमा विभिन्न राजनीतिक, दल, बुद्धिजिवी, समाजसेवी निजी क्षेत्र लगायत सरोकारवाला सबैसँग छलफल तथा अर्न्तक्रिया गरिएको छ । यस बृहत् प्रर्वधानात्मक अभियानको मुख्य प्रबंधक नेपाल पर्यटन बोर्ड रहेको छ । महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाई अवधी बृद्धि गर्ने तथा दीगो पर्यटन विकासबाट आर्थिक समृद्धी प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण बर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगर प्रमुख रेनु दाहाले बताउनु भयो । भरतपुर भ्रमण बर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा बर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुने दाहालको भनाइ छ ।

भ्रमण बर्षमा करीव २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटकहरूले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने अपेक्षा गरिएको उप प्रमुख चित्रसेन अधिकारीले बताउनुभयो । यहाँका सम्भावनाहरुको पहिचान, तथा बलिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा राखिएको अधिकारीको भनाइ छ । भरतपुरलाई चिनाउँदै यहाँ आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न पनि भ्रमण बर्ष कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । भ्रमण बर्षमा आउने पाहुनाहरुलाई सेवा प्रदान गर्न महानगरपालिका भित्र होटलहरुमा ७ हजार ५ सय र सौराहा देखि गैंडाकोटसम्म १५ हजार वेड तयारी अवस्थामा राखिएका छन् । भ्रमण बर्षमा आउने पाहुनाहरुलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा घोषणा गरेका छन्। भ्रमण बर्ष भरी सञ्चालन गरिने विविध गतिविधिहरुले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यस महाअभियानलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न भ्रमण वर्ष भरिनै यहाँहरुको रचनात्मक साथ एवं सहयोगको अपेक्षा गर्दै भ्रमण बर्षको उद्घाटन समारोहलाई सफल बनाउन घरघरबाट सहभागी हुन भरतपुर लगायत चितवनबासीलाई भरतपुर महानगरपालिकाले आह्वान समेत गरको छ । साथै उद्घाटन समारोहको पुर्व ऱ्याली २९ वटै वडाबाट ऱ्याली निकालिने छ । बिहान ११ बजेबाट ६, ८, ९, १३, २१, २२, २३, २४ हाकिमचोक हुंदै चौबिसकोठी, त्रिचोक हुँदै चौबीसकोठी, गेस्टहाउस चौर हुँदै चौबीसकोठीबाट शुरु गरिनेछ । त्यस्तै ११ः१५ बजे बाट वडा नं. ५, ७, १४, १५, १८, १९ २०, २५, २६, २७, २८ पोखरा बसपार्क क्याम्पाचौरबाट शुरु हुनेछ भने ११ः३० बजेबाट वडा नं. १०, ११, १२, २९ को ¥याली क्याम्पाचौर हुँदै लायन्सचोक, बेलचोक हुँदै सहिदचोक, ११ः४५ बजे बाट वडा नं. १, २ को ¥याली क्याम्पाचौरमा जम्मा भएर शुरु हुने छ भने १२ बजे बाट वडा नं. ३, ४, १६, १७ नं. वडाहरुको ¥याली न्युरोड हुंदै कार्यक्रम स्थल नारायणी नदि किनार पुग्ने नगर प्रमुख एवम् मूल समारोह समिति संयोजक रेनु दाहाल बताउनु भयो । भरतपुर भ्रमण वर्षका अवसरमा वर्ष भरी नै अन्तराष्ट्रिय सफारी मार्ट, जङ्गल फेस्टिवल, युवा सम्मेलन, अन्तराष्ट्रिय लगानी सम्मेलन, साहित्यकार्यक्रम, ऱ्याली, हेरिटेज, म्याराथन, सेमिनारहरूको आयोजना, राजदूत, लेखक, ब्लगरहरूको भ्रमण, ट्राभल एजेन्सी, टुर अपरेटरहरूको सम्मेलन, विज्ञ समूह सहितको कार्यशालागोष्ठी, खेलकूद प्रतियोगिताहरू, पर्यटन तथा वातावरणसँग सम्बद्ध दिवसहरू, जातीय सांस्कृतिक कार्यक्रम, फुड फेस्टवल जस्ता क्रियाकलापहरु वर्षभरि निरन्तर आयोजना गरिने छ ।