१६ फागुन, चितवन। चितवनमा यही फागुन १९ गते हुने रोटरी मिनी म्याराथुनको तयारी पूरा भएको छ । आयोजक रोटरी क्लव अफ रत्ननगरले बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि म्याराथुन प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगितामा ४ जना विदेशी सहित ६०२ जना धावकले प्रतिस्पर्धा गर्ने रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा प्रतियोगिताका संयोजक विपिन पोखरेलले जानकारी दिए । प्रतियोगितामा नेपाल घुम्न आएका जर्मनी नागरिक दुई जना र कैन्याका नागरिक दुई जना गरी ४ जना विदेशी धावक समेत सहभागी हुने पोखरेलले जानकारी दिए । ६०२ जना धावक मध्ये ३६४ जना पुरुष र २३८ जना महिला छन् । प्रतियोगितामा ४८ जना महिला सहित ८९ जना चेपाङ समुदायका युवा युवतीले सहभागिता जनाउदै छन् । प्रतियोगिता खुल्ला र महिला गरि दुई चरणमा हुनेछ । खुल्ला तर्फ नारायणी नदी किनारबाट रत्ननगरको निपनी सम्म १५ दशमलब ४ किलोमिटर र महिला तर्फ टिकौली जंगलको मुख्य भागबाट सुरु भई निपनी सम्म पाँच किलोमिटर दुरी कायम गरिएको कार्यक्रम संयोजक पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा राष्ट्रिय धाबकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरु, सिमान्तकृत चेपांग समुदायका धावकहरुले प्रतिस्पर्धा गर्ने रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । भरतपुर भ्रमण वर्षलाई प्रबर्द्धन साथै समग्र चितवनको पर्यटन प्रवर्धन र रोटरीको जनाविश्वास अभिवृद्धि गर्ने उद्देश्यले मिनी म्याराथुन आयोजना गरिएको हो । धावक तथा प्रतियोगीहरुलाई दुवै विधामा पुरस्कृत गरिने छ। खुल्ला तर्फ प्रथम पुरस्कार रु।१ लाख नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, द्वितीय पुरस्कार रु।५० हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, तृतीय पुरस्कार रु। २५ हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार रु।१० हजार नगद सहित प्रमाणपत्र, पाँचौ पुरस्कार रु।५ हजार नगद सहित प्रमाणपत्र, छैठौ देखि दसौं स्थानसम्म रु।३ हजार सहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङलाई रु।२ हजार नगद प्रदान गरिने छ । महिला तर्फ प्रथम पुरस्कार रु।२० हजार नगद सहित चाँदीको तक्मा एवं प्रमाणपत्र, द्वितीय पुरस्कार रु।१० हजार नगद सहित चाँदीको तक्मा एवं प्रमाणपत्र, तृतीय पुरस्कार रु।५ हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार रु। ३ हजार नगद सहित प्रमाणपत्र, पाँचौ पुरस्कार रु।२ हजार ५ सय नगद सहित प्रमाणपत्र, छैठौं देखि दसौं स्थान सम्म रु।२ हजार नगद सहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङ महिलालाई रु।१ हजार नगद प्रदान गरिनेछ । प्रतियोगिताकम लागि महालक्ष्मी बिकास बैंकबाट टिसर्ट सौजन्य स्वरुप रु। ३ लाख, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले खुल्ला तर्फको प्रथम पुरस्कार बापत रु। १ लाख, गुरु ट्राभल्स काठमाडौँबाट रु। १ लाख र अंकुरम पोलिक्लिनिक रत्ननगरबाट महिला लक्षित प्रतियोगिताको प्रथम पुरस्कार बापत रु। २० हजार सहयोग गरेका छन् । प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहालले र महिला लक्षित प्रतियोगिताको उद्घाटन रोटरीका गभर्नरबाट तथा पुरस्कार वितरण एवं समापन होटल स्टार चितवन रत्ननगरको सभाहलमा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा हुनेछ ।