फागुन २०, चितवन ।
मेघौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले २५ वर्ष पूरा भएको अवसरमा रजत महोत्सवभएको छ । २०५२ सालमा स्थापना भएको वनले आफ्नै वनक्षेत्रमा एक समारोहबीच रजत महोत्सव मनाउन लागेको हो । सामुदायिक वनले वैशाख ३ र ४ गते विभिन्न रचनात्मक तथा सृजनशील क्रियाकलापहरु गरेर रजत महोत्सव गर्ने उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बताए । रजत महोत्सवको अवसरमा स्मारिका प्रकाशन गर्ने तयारी गरिएको बताउँदै उनले उक्त स्मारिकामा सामुदायिक वनमा विगत २५ वर्षमा भएका क्रियाकलापलाई समेट्ने बताए । उक्त अवसरमा केन्द्रीय सरकारका वनमन्त्रीलाई प्रमुखअतिथिको रुपमा निम्त्याउने तयारी गरिएको बताउँदै उनले भरतपुर महानगरपालिकाका मेयर, उपमेयर तथा चितवन राष्ट्रिय निकुञ्जका वार्डेनलगायतको उपस्थिति रहने बताए । महोत्सवमा समितिका पुर्व पदाधिकारीहरुलाई सम्मान गरिने भन्दै अध्यक्ष चौधरीले स्थानीय थारु, कुमाल, मगर तथा अन्य जातिहरुको परम्परागत संस्कृति प्रदर्शन महोत्सवको मुख्य आकर्षण रहने बताए । उनले समितिले मेघौली क्षेत्रभित्रका सामुदायिक वनहरुमा बासस्थान सुधार, पोखरी निर्माण, घाँसे मैदान व्यवस्थापन तथा द्वन्द्व न्यूनीकरणका लागि जनचेतना फैलाउने तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राखी काम गरेको बताए । संरक्षित क्षेत्रवरपर बढ्दो जनघनत्व, अव्यवस्थित भू–उपयोगका कारण बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले वन्यजन्तु बासस्थान छोडी गाउँबस्तीमा पस्ने गरेका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको उनको भनाइ छ । चोरीसिकार नियन्त्रणमा युवा परिचालन अभियान, घाइते, अपाङ्ग, टुहुरा र समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापनका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माणका साथै मानव–वन्यजन्तु द्वन्द्व शून्य गर्न नसकिने भए पनि न्यूनीकरण गर्दै लैजानुपर्ने बताउँदै यो अभियानमा दृढ रहेको उनले बताए । मध्यवर्ती उपभोक्ता समूहबाट द्वन्द्व न्यूनीकरण र वन्यजन्तु संरक्षणका लागि जनचेतना फैलाउने काम भइरहेको उनले बताए । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी बनेको छ । चोरीसिकारको प्रवेश विन्दु मानिने मध्यवर्तीका बासिन्दा निकुञ्ज संरक्षणमा जुट्दै आएका छन् । २५ वर्षअघि सरकारले नियमावली बनाएर मध्यवर्तीको घोषणा गरेको हो । यससँगै स्थानीयको जीवनस्तर उकास्न राज्यले सहयोग गर्दै आएको छ भने स्थानीय त्यसको संरक्षणमा जुटेका छन् । २०५३ मङ्सिर १७ गते ‘मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली’ राजपत्रमा प्रकाशित भएसँगै मध्यवर्तीको अवधारणा अघि बढेको हो । भरतपुर महानगरपालिका वडा नं–२७ र २८ मा पर्ने मेघौली क्षेत्रभित्रका नौवटा सामुदायिक वनहरुमा राधाकृष्ण, सदाबहार, हरियाली राप्ती तथा वेतरी, मालिका, राप्ती नियन्त्रित, नारायणी नियन्त्रित, बदार्हा–३, बदार्हा ४–६ र नकियादेवी सामुदायिक वन रहेका छन् । राप्ती र नारायणी नदीको सङ्गमस्थलसँगै चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मेघौलीमा दुर्लभ वन्यजन्तु बाघ र गैँडा अवलोकनका लागि पर्यटक आउने गर्दछन् । हात्ती चढेर जंगल डुल्न चाहने पर्यटकहरु मध्यवर्ती सामुदायिक वनहरुमा जाने गर्छन् ।