चैत २७, भरतपुर ।
तस्विर : कोमल चन्द्र भगत ।
चितवन उद्योग संघ र कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा भरतपुरमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने भएको छ । उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा हुने मेला आगामी वैशाख ७ गतेदेखि ११ गतेसम्म हुने आयोजकले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मेलामा औद्योगिक र सूचना प्रविधि सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० वटा स्टल रहने चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी विभागका संयोजक दिनुपकुमार बरालले बताए । त्यसमध्ये, सात वटै प्रदेशका उद्योग मन्त्रालयको सिफारिसमा तीन–तीन वटा निःशुल्क स्टल रहनेछन् । मेलाको स्वदेशी तथा विदेशी गरी २५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
मेलाले लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरणा गरी औद्योगिक उत्पादकत्व बृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधि लगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमुलक उद्योगको प्रवद्र्धन गर्ने र व्यवसायी–व्यवसायी तथा व्यवसायी–उपभोक्ता भेटघाटका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने अपेक्षा गरिएको छ । त्यस्तै, प्रदर्शनीका क्रममा स्वदेशी एवम् विदेशी उद्योगीहरुका बीच प्रत्यक्ष भेटघाटका माध्यमबाट हुने छलफलबाट औद्योगिक उत्पादनको चरणमा वस्तुको बजार र उपभोक्ता आकर्षण गर्न, ब्राण्डिङ, लेबलिङ र प्याकेजिङ प्रक्रियाका सम्बन्धमा अभिबृद्धि गर्न तथा व्यावसायिक सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बरालले बताए । मेला अवधिभर शुन्य प्रतिशत व्याजदर सहित किस्ताबन्दी सुविधामा ल्यापटप खरिद गर्न र कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको निःशुल्क मर्मत गरिने क्यान चितवनका अध्यक्ष टेकलाल भुषालले बताए । अनलाइनबाट रजिष्ट्रेशन गरी आउने अवलोकनकर्तामध्ये दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षक पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । मेला अन्तर्गत नै क्यान चितवनसँगको सहकार्यमा ‘चितवनको सम्बृद्धि सूचना प्रविधि’ भन्ने मुख्य उद्धेश्य राखि टेकमाइण्ड्स नेटवर्क क्यान इन्फो टेक चितवन २०८१’ आयोजना हुने उनले बताए । उक्त प्रदर्शनी अवधिभर टेकमाइण्ड इन्टरनेट जडान गर्ने अवलोकनकर्तालाई विशेष सहुलियत प्याकेज उपलब्ध हुने बताइएको छ ।