बैशाख २९, रत्ननगर । सौराहा सहित चितवनको पर्यटन विकासको लागि समन्वय समिति बनाइएको छ । रत्ननगर नगरपालिकाले समग्र चितवनको पर्यटन विकासको लागि भेषराज दुवाडी संयोजक अध्यक्ष रहेको रत्ननगर पर्यटन विकास समन्वय समिति बनाएको हो ।
चितवन उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका दुवाडी पर्यटन व्यवसायको विकासको लागि अनुभवी व्यवसायी हुन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई केन्द्रीत गरेर चितवनको पर्यटन विकासको लागि अधिकार सम्पन्न समन्वय समिति बनाइएको हो । सो समितिलाई पूर्वी चितवनका चार पालिकाका पर्यटन व्यवसायी, संरक्षणकर्मीहरुलाई समाबेस गरी पूर्णता दिने तयारी गरिएको संयोजक दुवाडीले जानकारी दिए ।
पूर्वी चितवनको पर्यटन विकासको लागि सम्भावित पर्यटकीय क्षेत्रहरुलाई सौराहासंग जोड्ने र तीनै तहको सरकारको लगानीमा पूर्वाधार निर्माण गर्ने गरी योजना बनाइने उनले बताए । सौराहालाई केन्द्र बनाएर चितवनको चारवटै पालिकामा रहेका पर्यटकीय क्षेत्र जोड्न उक्त स्थानमा विदेशी पर्यटक भित्र्याउने संयोजक दुवाडीले बताए । सौराहामा करिब ४ बर्ष अघि घोषणा गरेको घुमौं सौराहा अभियान कोरोना महामारीले प्रभावित भएको थियो । सौराहा सहित चितवनको पर्यटन विकासको लागि घुमौ सौराहालाई निरन्तरता दिने अध्यक्ष दुवाडीले बताए ।
घुमौ सौराहालाई निरन्तरता दिन आफुले व्यवसायी र जनप्रतिनिधिहरुसंग छलफल गरेर योजना निर्माणको थालनी गरेको दुवाडीको भनाई छ । चितवनमा पर्यटक भित्र्याउन विद्युतिय बजारीकरणलाई अबलम्बन गर्ने र बार्षिक ४ लाख पर्यटक भित्र्याउने गरी तयारी गरिने उनले बताए । समितिका संयोजक भेषराज दुवाडीले सौराहालाई सिरानी हालेर चितवनको पर्यटन विकासको लागि कार्ययोजना बनाएर देखिने गरी काम गर्ने भन्दै सौराहालाई पर्यटन क्षेत्र घोषणा, गुरुयोजना निर्माण र सुचना केन्द्र सञ्चालन, विद्युतिय बजारीकरण र अत्याधिक रुपमा सुचना प्रविधिको प्रयोग गरी घुमौ सौराहा अभियानलाई अगाडि बढाउने बताए ।
सौराहामा ध्वनि प्रदूषण, अव्यवस्थित पाकिङ, निकुञ्जको टिकटको समयाबधिको विषयमा स्थानीय सरकार र व्यवसायी बीच सहकार्य गरेर समस्या हल गर्न अर्थपूर्ण प्रयासको थालनी गरिने उनको भनाई छ ।