साउन ६, मकवानपुर
नारायणगढ रोटरी क्लब र स्पाउज क्लब अफ आरसी नारायणगढले आज एक कार्यक्रम बिच मनहरी, मकवानपुरमा स्थापित आमा घरको लागि आवश्यक खाद्यान्नहरू लगायत नगद सहयोग प्रदान गरेको क्लबका अध्यक्ष रोटरियन तारानाथ पाठकले जानकारी गराएको छ । उक्त सहयोगहरू आमा घरका अध्यक्ष रामचन्द्र उप्रेतीलाई हस्तान्तरण गरिएको हो । ब्रह्मकुमारी रेवती दिदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा आमा घरका संस्थापक ब्रह्मकुमार विजयराज सिग्देलले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै हाल संस्थामा ३० जना आमाहरूले आश्रय लिइरहेको बताए । पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक सहनलाल प्रधानले विगत २ वर्षदेखि आमा घरलाई सहयोग प्रदान गर्दै आएको र निरन्तर रूपमा हरेक रोटरी वर्षको प्रारम्भमा आमा घरलाई सहयोग प्रदान गरेपश्चात् क्लबद्वारा अन्य सामाजिक कार्यको सुभारम्भ गरिने बताए । आफ्नो मन्तव्यको क्रममा आमा घरका अध्यक्ष रामचन्द्र उप्रेती र पूर्व गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले नारायणगढ रोटरी तथा स्पाउज क्लब अफ नारायणगढ रोटरीले आमा घरलाई पुर्याउँदै आइरहेको सहयोगको लागि धन्यवाद व्यक्त गरे । त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि ब्रह्मकुमारी रेवती दिदीले मन्तव्यको क्रममा २ मिनेटको मेडिटेशन गराउनुकासाथै आशीर्वचनहरू प्रदान गरेकी थिइन् ।
क्लबका सचिव सेवन पन्तले सञ्चालन गरेको उक्त कार्यक्रममा स्पाउज क्लबका सदस्य कल्पना थपलिया पाठकले सुन्दर कविता वाचन गरेका थिए भने अर्का सदस्य अनुराधा पन्तले आफ्नो स्नातकोत्तर अध्ययनको सिलसिलामा ‘आमा घर’ शीर्षकमा लेखिएको थेसिस र सो क्रममा आमा घरमा आश्रित आमाहरूसँग गरिएको अन्तर्वाताको सम्बन्धमा आफ्नोआफ्नो अनुभव सुनाएकी थिइन् । सोही कार्यक्रममा आमा घरको लागि ६४ थान फूलको विभिन्न जातका बिरुवाहरूसमेत वृक्षरोपण गरिएको क्लबका सचिव सेवन पन्तले बताए । करिब ६० हजार रुपैयाँ बराबरको खाद्यान्न क्लबको तर्फबाट अध्यक्ष तारानाथ पाठक र स्पाउज क्लब अफ नारायणगढकी अध्यक्ष इन्दु श्रेष्ठले स्पाउज क्लबको तर्फबाट नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरिएको सचिव पन्तले जानकारी गराए । साथै स्पाउज क्लबका सदस्य शान्ति श्रेष्ठले आमा घरको आजीवन सदस्यता लिएको उनले बताए । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू रोहितकुमार श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, रमेश पौडेल, नगेन्द्रबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष भोलानाथ लामिछाने, मनोनित अध्यक्ष रामप्रसाद गजुरेल, सर्भिस प्रोजेक्ट डाइरेक्टर देवमाया श्रेष्ठ, मेम्बरसिप डाइरेक्टर अजिता पिया र सदस्य राजेन्द्र पौडेललगायत स्पाउज क्लबका सदस्यहरू शान्ति श्रेष्ठ, राजकुमारी श्रेष्ठ, वर्षा प्रधान र एनेट स्वस्तिका पौडेलको उपस्थिती रहेको थियो ।