चितवन, पुष ११ । तस्विर: कोमल चन्द्र भगत / अंकित भगत । पर्यटकिय नगरी चितवनको सौराहामा १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । जिल्लाको पर्यटन विकास गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ चितवन सौराहाले महोत्सवको आयोजना गरेको हो । महोत्सवको नेपाल सरकारको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गर्नुभएको हो ।
महोत्सव उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले पशु अधिकारको नाममा हात्ती महोत्सवको विरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ। हात्तीले चितवनको पर्यटन विकासमा महत्पवूर्ण भूमिका निर्बाह गरेको भन्दै उहाँले हात्ती महोत्सव र त्यसमा हुने गतिविधिको विरोध गर्दा पर्यटन क्षेत्रमा असर पर्ने बताउनुभयो । अधिकारका नाममा हात्ती महोत्सव रोकिनु हुँदैन उहाँले भन्नुभयो महोत्सवलाई जनावरमैत्री बनाउदै अझै शक्तिशाली बनाउनु पर्ने उहांको भनाइ छ । हात्तीका गतिविधि अबलोकन गर्न पर्यटक आउने भन्दै उहाँले यो सकरात्मक पक्ष भएको बताउनुभयो ।
हात्ती महोत्सव गलत प्रचारको सिकार हुन नहुने भन्दै उहाँले महोत्सवलाई महोत्सवलाई प्रभावशाली बनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । चितवनका पर्यटन व्यवसायीको हात्ती प्रतिको लगाब र प्रतिबद्धताको अगाडि अधिकारको नाममा गरिएको विरोध निरही रहेको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । वन्यजन्तुप्रति मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको भन्दै उहाँले पर्यटकीय गतिविधिलाई कुनैपनि बहनामा विरोध गर्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो । चितवनको सफारी पर्यटनलाई असर पर्ने गरी हात्ती महोत्सवप्रति असहमति जनाउन नहुने उहाँको तर्क थियो ।
चितवनको सफारी देशकै पर्यटन उद्योगको अनुपम नमुना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले हात्ती महोत्सव र यस अन्तर्गगत हुने क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । स्थानीय जनतालाई फाइदा हुने गरी जैविक विविधताको न्यायोचित प्रयोग गर्नुपर्ने भन्दै उहाँले संरक्षण र पर्यटनलाई संगसंगै अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । जैविक विविधता र सम्पदा जोगाउदै जनताले अधिकतम फाइदा लिने गरी त्यसको उपयोग गर्नुपर्ने उहाँको भनाई छ । प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले पशुअधिकारकर्मीहरुले हात्ती महोत्सवको विरोध गर्नुको अर्थ नभएको बताउनुभयो । उहाँले बृहद पर्यटन विकास समिति गठन गरी सोही समितिले हात्ती महोत्सव गर्नुपर्ने सुझाब दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारीले चितवनको पर्यटन विकासको लागि पाहुनालाई प्रदान गरिने सेवाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । चिन सरकारले भ्रमण वर्षको घोषणा गरी आफ्ना नागरिकलाई जनसुकै देशमा घुम्न जान आह्वान गरेको भन्दै त्यसको भरपुर फाइदा चितवनका पर्यटन व्यवसायीले लिने गरी तयारी गर्नुपर्ने उहाँको भनाई थियो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले हात्ती महोत्सवलाई विवादित बनाएर चितवनको पर्यटनलाई ध्वस्त पार्ने खेल सुरु भएको बताउनु भयो ।
कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका पूर्व अध्यक्ष घनश्याम श्रेष्ठ र व्यवसायी हरिप्रसाद पाठकलाई सम्मान गरिएको छ । कार्यक्रममा महोत्सवका संयोजक रामकुमार अर्यालले सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहा सहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको बताउनुभयो । हात्ती महोत्सव अन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी, हात्तीमैत्री म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगोदौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसंग बिटुवी गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्रिया कार्यक्रम हुने संघका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो । विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीव ८० वटा हात्ती सहभागी हुने जनाइएको छ ।
संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, वडा नं ७ का वडाध्यक्ष सजना महतो, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष कुमारमणि थपलिया, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा लगायततले मन्तव्य राख्नुभएको थियो । रत्ननगर नगरपालिका संरक्षक रहेको हात्ती महोत्सवको सहआयोजकमा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल सह–आयोजक रहेको छ ।