पुष १२, रत्ननगर । तस्विर कोमल चन्द्र भगत । १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको दोस्रो दिन हात्ती सुन्दरी प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा सौराहाकी विजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ बर्षीय विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध हात्ती हो ।
३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो। हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । सुन्दरीप्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिएको संयोजक तिवारीले बताउनुभयो । उहांले नङ फुटे, नफुटेको, लगायतका बारेमा पनि मूल्यांकन भएको बताउनुभयो ।