पुष १२, चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को समापनको अवसर पारेर आयोजना गरिएको राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ आज(शुक्रबार)बाट भरतपुरको मेघौलीमा सुरु भएको छ । बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले एक कार्यक्रमका बिच महोत्सवको उद्घाटन गर्नुभएको हो । कार्यक्रमा बोल्नुहुँदै मुख्यमन्त्री लामाले रैथाने खानाले मात्रै पर्यटन प्रवर्द्धन गर्न सक्ने बताउनुभयो । रैथाने खानाको स्वादको अहिले महत्त्व बढ्दै छ । रैथानेको संरक्षणले मात्रै विकास बढ्ने छ उहाँले भन्नुभयो । थारू, बोटे लगायतका जनजातिहरूको भाषा संस्कृतिसँगै मेघौलीको रैथाने खानाको संरक्षणमा गर्न उहाँले जोड दिनुभयो ।

उहाँले रैथाने खानासँगै रैथाने अन्नको बिउँ जोगाउन पनि सबैमा आग्रह गर्नुभयो । उहाँले हात्ती पोलो मेघौलीको पहिचान भएकाले यसको निरन्तरता गर्न आग्रह गर्नुभयो । बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशीले मेघौली थारू, दरै बोटे जस्ता आदीवासीहरूको थलो भएको बताउनुहुँदै यहाँको रैथाने खानाको विकास र प्रचारप्रसार गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले बागमती प्रदेश सभाका सांसद ईश्वर सापकोटाले सबै मिलेर भरतपुरको पर्यटन प्रवर्द्धनमा लाग्नु पर्ने बताउनुभयो । महोत्सवमा विभिन्न जात जातिका रैथाने खानाहरू राखिएका छन् ।

रैथाने खानामार्फत् चितवनको पर्यापर्यटन विकास गर्ने उद्देश्य महोत्सव आयोजना गरिएको हो । महोत्सव मुल समारोह समितिका संयोजक मायाराम महत्तोले आदीवासी तथा जनजातिहरू थारू, कुमाल, दराई, माझी मुसहर, बोटे, मगर गुरुङ लगायतका रैथाने खानाहरू राखिएको जानकारी दिनुभयो । महोत्सव पुस १६ गते सकिने छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ । भरतपुर महानगर पालिकाका प्रमुख रेनु दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो ।