१ माघ, चितवन । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा सक्रान्ति मेला आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए । साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको छ । चिवनतर्फ सवारीसाधनको पार्किङ गर्न साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ । ठूला सवारीसाधन ९बस, मिनिबस, माइक्रो० आदिको पार्किङ दाहसंस्कारस्थल प्रवेशद्वार ९चन्द्रलोक स्वर्गद्वार० बाट उत्तर पूर्वक्षेत्रमा प्रबन्ध गरिएको समितिका कार्यकारी निर्देशक बरालले जानकारी दिए । ‘त्रिशूली नदीको झोलुङ्गे पुलमा एकपटकमा एक सय यात्रुमात्र हिँड्ने व्यवस्था मिलाइएको छ । डुङ्गा, र्‍याफ्टिङबाट नदी वारपार गर्दा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था मिलाइएको छ भने डुङ्गा तथा र्‍याफ्टिङबाट एकतर्फी भाडा रु ५० कायम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले बताए । पद्मम पुराणका अनुसार सूर्य मकर राशिमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहिआएको छ ।

पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर सङ्क्रान्तिको दिन भएको मानिन्छ । सोही कारण पनि माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गर्नेको ठूलो घुइँचो लाग्ने गर्दछ । तीर्थस्थलमा धुम्रपान, मदिरा एवं सुर्तीजन्य पदार्थहरु निषेध गरिएको छ । ती वस्तुहरू बिक्री, ओसारपसार एवं सेवन कार्य नगरी सहयोग पुर्‍याइदिनुहुन सम्बन्धित सबै पक्षसँग अनुरोध गरिएको कार्यकारी निर्देशक बरालले बताए ।

‘बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ । नुहाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट दुई वटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाइएको छ ।

सवारी पार्किङ शुल्कको दररेटमा मेला अवधिभर साइकललाई १०, मोटरसाइकल रु २०, कार, जिप, भ्यान तथा हल्का सवारीलाई ५० तथा बस ट्रकसहित भारी सवारीसाधनलाई एक सय निर्धारण गरिएको समितिले जनाएको छ ।