माघ ८, चितवन ।
नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।
स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी स्टल रहेको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ ।
त्यसैमध्येको एक स्टल छ हिमालयन चियाको स्टल । नेपाली चियाको प्रवद्र्धन एवम् युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न उद्योग तथा वाणिज्य कार्यालय चितवन मार्फत हिमालयन चियालाई निशुल्क स्टल उपलब्ध गराइएको छ ।
उक्त स्टलमा हिमालयन चिया ब्राण्डका थरीथरीका चिया निुशल्क रुपमा महोत्सव घुम्न आएकाहरुलाई चखाइएको छ । चिया चाख्नका लागि उक्त स्टलमा भिड नै लाग्ने गरेको छ ।
हिमालय चियाका प्रबन्ध निर्देशक काजी पदमले अर्थोडक्स चिया र उच्च गुणस्तरको सिटीसी चिया चखाइराखिएको बताए । चियाको महत्व र नेपालीले पनि उच्च गुणस्तरको चिया खान सक्छन् भनेर बुझाउने काम गरिएको उनले बताए । इलामबाट चिया चितवन ल्याएर त्यसलाई प्रशोधन गरी विभिन्न प्रकारका चिया बनाउने गरिएको उनले जानकारी दिए ।
नेपालमा उच्च गुणस्तरको चिया उत्पादन हुने गरेको र स्वदेशलाई पुगेर विदेशमा निर्यात गर्ने गरिएको भए पनि वार्षिक ८ करोडको चिया नेपालमा आयात हुने थाहा पाएपछि नेपालीलाई नेपालकै उच्च गुणस्तरीय चिया खुवाउनुपर्छ भन्ने धारणाले चियाको व्यवसाय सुरु गरेको काजी बताउँछन् ।
कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुष २५ बाट सुरु भएको थियो भने माघ १० गतेसम्म चल्ने छ ।
महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।
महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।