चितवन, माघ १० ।
१५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुती’ मुल नारा दिएर पुष २५ बाट सुरु भएको महोत्वको सम्पन्न भएको छ ।

संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र बन तथा बातावरण मन्त्री कृष्ण सिलवालले समापन गरेका हुन् ।

महोत्सव मुल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको समापन गर्दै महोत्सव ऐतिहासिकरुपमा सफल भएको बताउनु भयो ।

महोत्सव अवधिभर ५ लाख अवलोकनकर्ताले महोत्सवको अवलोकन गरेको र ३० करोड बराबरको कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। लक्ष्य अनुसार कै सहभागिता र कारोबार भएको भन्दै अध्यक्ष श्रेष्ठले समापन समारोहमा खुसी व्यक्त गर्दै महोत्सव सफल पार्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यावद दिनुभयो ।

अवलोकनकर्ताहरुको चाप र महोत्सव परिसरभित्र निर्माण गरिएका र आयोजना गरिएका प्रबद्र्धनात्मक क्रियाकलापहरुमा अवलोकन कर्ताहरुको जुन चासो र भिडभाड देखियो यसले आयोजकलाई रोमाञ्चित बनाएको र आगामी दिनहरुमा पनि यस किसिमका महोत्सवहरु आयोजना गर्नका लागि थप उत्साहित बनाएको श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा रोजगार मेला, हार्डवयर्स एक्सपो, मह परिसर, अटो परिसर, रेष्टुरेन्ट परिसर, फन पार्क, चाईना एक्सपो, लघु, घरेलु परिसर, कृषि परिसर लगायत ४३० स्टलहरु रहेका थिए । बिगतका १४ वटा महोत्सवहरुलाई तुलना गर्दा यस पटकको महोत्सव पृथक बनेको श्रेष्ठले बताउनुभयो ।
महोत्सव अवलोकनकर्ता र प्रदर्शकबाट संकलन गरेको पृष्ठपोषण फर्मलाई अध्ययन गर्दा करिव ९० प्रतिशत अवलोकनकर्ताहरु महोत्सवमा भएका क्रियाकलापहरुबाट पूर्ण सन्तुष्टि भएको पाइएको श्रेष्ठले जानकारी गराउनुभयो ।

महोत्सवको माध्यमबाट उद्योग व्यवसायको प्रवद्र्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातीहरुको परम्परा, रितिरिवाज र भेषभुषाहरुको जर्गेना हुनुका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उर्जा सूचना प्रविधि र पूर्वाधार लगायतका क्षेत्रहरुको विकासका संभावनाहरुको पनि उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको महसुश भएको श्रेष्ठ बताउँहुन्छ ।
चितवन महोत्सवमा पहिलो पटक आयोजना गरिएको चाइनिज कमोडिटी एक्सपोमा रहेका स्टलहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको बताउँदै अध्यक्ष श्रेष्ठले निर्माण सामाग्री (हाडवयर्स) व्यवसायी संघ चितवनको सहकार्यमा आयोजित निर्माण एक्सपोमा पनि उल्लेख्य दर्शकहरुले उपस्थिति जनाएको बताए । चितवन महोत्सव २०८१ मा प्रतियोगितात्मक कृषि प्रदर्शनी, हस्तकलाका उत्पादन, साना तथा लघु, घरेलु उत्पादनको प्रदर्शनी, औद्योगिक प्रदर्शनी, अटोमोवाईल्स प्रदर्शनी, अर्गानीक उत्पादनको प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, रमाइलो मेला, कृषि , शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधि बिषयमा राष्ट्रिय स्तरका छुट्टाछुट्टै सेमिनार तथा गोष्ठी, साहित्यिक गोष्ठी, खेलकुद प्रतियोगिता, दैनिक स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वदेशमा उद्योगहरुको विस्तार गरी स्वदेशमै वस्तुहरु उत्पादन गर्नुुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो । जसका लागि देशमा उद्योग व्यवसायमैत्री वातावरण बनाउनु पर्ने र त्यसका लागि प्रदेश सरकार लागिरहेको बताउनुभयो । महोत्सवले स्वदेशी र स्थानीय उत्पादनको प्रवद्र्धन र बाजारीकरणमा सहयोग पुर्याउनुपर्ने बताउनुभयो

समापन समोरोहमा एक चाइनिज प्रदर्शक र एक स्वदेशी प्रदर्शकले आफ्नो धारणा राख्दै महोत्सवमा साचे जस्तो सफलता प्राप्त गरेको बताएका छन् । समापन समारोहमा दुई प्रदर्शक, अध्यक्ष र प्रमुख अतिथिबाहेक अन्य कुनै पनि वक्ताहरुले बोलेनन् ।

उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदीले समापोन समारोहमा स्वागत मन्तव्य राखेका थिए भने उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।
महोत्सवको समापन समारोहमा महोत्सवमा उत्कृष्ट प्रदर्शक, उवासंघका पूर्व अध्यक्ष, महोत्सव मुल समिति भित्रका उत्कृष्ट कार्यसम्पादन गर्ने उपसमिति संयोजकहरुलाई सम्मान समेत गरिएको थियो ।