चितवन, माघ २० ।
चितवन राष्ट्रिय निकुञ्जले सिमसार दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ । ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने मुल नाराका साथ निकुञ्जले रामसार सूचीमा सुूचिकृत बीस हजारी तालमा अन्तरक्रिया तथा फोहोर संकलन गरी दिवस मनाएको हो । मध्यवर्ती क्षेत्र, सामुदायिक वन, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, वडा कार्यालय, डब्लु डब्लु एफ नेपाल, एनटीएनसी लगायत संघसंस्थाको सहभागितामा कार्यक्रम गरिएको हो । यस्तै वरण्डाभार जैविक मार्ग अन्तरगत पूर्वपश्चिम महेन्द्र राजमार्गमा प्लाष्टिकजन्य फोहोर संकलन तथा चेतना अभिवृद्धि कार्यक्रम गरिएको छ । सिमसार र मानवबीच अन्तर सम्बन्ध, सिमसार संरक्षणका चुनौति, सिमसार पूर्नस्थापनामा भएका प्रयासहरु बारे आम नागरिकलाई यसको महत्व बुझाई यसको संरक्षणमा सबै तहतप्काको सहभागिता बढाउने कार्यक्रमको उदेश्य रहेको छ । कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटा, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख, वडा अध्यक्षहरु, संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।