फागुन ३, चितवन। तस्विर : कोमल चन्द्र भगत । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताउनुभएको हो ।

पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्ने, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर भएको महतको भनाइ थियो । व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउने हुंदा पार्टीलाई बलियो बनाउनका लागि व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा महतले जोड दिनुभयो । सरकारले ल्याएको अध्यादेश पास गर्ने विषयमा विपक्षी दलहरुसँग छलफल भइरहेको बताउंदै महतले पाँच वटा अध्यादेशमा केही समस्या नभएको र भूमिसम्बन्धी अध्यादेशमा देखिएको समस्या प्रतिस्थापन विधेकबाट पास बताउनु भयो ।