फागुन ३, चितवन। इच्छाकामना गाउँपालिका वडा नं–५, मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलास्थित सडकछेउको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा इन्डियन आर्मी रोहित राना त्रिशूली नदीमा बेपत्ता भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जांदै गरेकोजस्तो देखिने बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकलमा कति जना थिए भन्ने खुलेको छैन । मोटरसाइकल चालक लमजुङको चन्द्रेश्वर गाविस वडा नं–३ घर भई हाल भरतपुर–१, रामनगर बस्ने २७ वर्षीय भारतीय सैनिक रोहित राना रहेको भन्ने निजको नागरिकता र परिचयपत्रबाट खुलेको प्रहरीले जनाएको छ । निजकोखोजतलासका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार चितवनबाट गोताखोरसहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।