चैत ३१, चितवन । तस्विर : कोमल चन्द्र भगत । चितवनको पर्यटकिय नगरी सौराहामा नयां वर्ष २०८२ वैशाख १ गतेदेखि ३० औँ वन्यजन्तु सप्ताह सुरु हुने भएको । ‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानि नोक्सानी’ भन्ने मुल नारासहित सप्ताह शुरु गर्न लागिएको हो । आज ( आइतबार ) मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहव्यापी आयोजना हुने कार्यक्रमको बारेमा जानकारी दिएको छ । संरक्षण र पर्यटनसंग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा एक हप्तासम्म विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउन लागिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा निकुञ्जसहित संरक्षण र पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वैशाख १ गते ३० औं वन्यजन्तु सप्ताहको उद्घाटन गरिने, २ गते टिकौली सडक वरपर सरसफाइ गर्ने, ३ गते जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन र ‘बुझौँ वन्यजन्तुको आनीबानी ः घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने, ४ गते बुढीराप्ती खोला सरसफाइ कार्यक्रम र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्याली र सप्ताहको अन्तिम दिन वैशाख ७ गते समापनको अवसरमा ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया तथा संरक्षणमा योगदान दिएकाहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिने, वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण र विभिन्न प्रतियोगीताहरुमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरुलाई पुरस्कार प्रदान गर्नेलगायतको विभिन्न कार्यक्रमहरु गरिने अध्यक्ष घिमिरेले बताउनु भयो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका सचिव ओमप्रसाद रिजालले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा सिवियपियु मृगकुञ्जका अध्यक्ष बसन्त राना, मृगकुञ्जका कोषाध्यक्ष सञ्जय महतो, सदस्यहरू पूर्णप्रसाद ढुङ्गाना, बिन्दा कार्की, सरस्वती लामा लगायतको उपस्थिति थियो। कार्यक्रममा नयां वर्ष २०८२ शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
