बैशाख १७, रत्ननगर । । रत्ननगर नगरपालिका वडा नं ५ ले ज्येष्ठ नागरिक दिवाकालिन विश्रामकक्ष सञ्चालनमा ल्याएको छ । झुवानी सामुदायिक पुस्तकाल र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थासंगको सहकार्यमा बृद्धबृद्धाहरुको लागि विश्रामकक्ष सञ्चालनमा ल्याएको हो । रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा सो वडाका वडाध्यक्ष बालकृष्ण चापागाईँले पुस्तकालयको कोठामा एक औपचारिक कार्यक्रमका बीच विश्रामकक्षकोे उद्घाटन गरेका छन् । वडा कार्यालयले एसी सहित राखेर व्यवस्थित विश्रामकक्ष निर्माण गरेको छ । विश्रामकक्षमा बस्ने ज्येष्ठ नागरिकलाई चिया खाजा सहित महिनाको अन्तिम शुक्रबार स्वास्थ्य परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको वडाध्यक्ष चापागाईँले बताए । विश्रामकक्ष तथा ज्येष्ठ नागरिकको रेखदेख वडा कार्यालय, पुस्तकाल र महिला बचतले सामुहिक रुपमा गर्ने व्यवस्था मिलाइएको छ । वडाध्यक्ष चापागाईँले खुल्ला ठाउँमा विश्राम स्थल बनाउदा धुवाँ धुलोका कारण बृद्धबृद्धाहरुमा रोगको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी पुस्तकालयको कोठामा एसी सहितको विश्रामकक्ष निर्माण गरिएको बताए । नगर स्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक छविलाल घिमिरेले एक वडा एक विश्राम स्थल बनाउन स्थानीय सरकारलाई संस्थागत रुपमा आग्रह गरेको भन्दै त्यसको सुरुवात वडा नं ५ बाट सुुरु भएको बताए । झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालले स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालयको रचनात्मक काममा पुस्तकालयले सहकार्य गरेको बताए । कार्यक्रममा वडा कार्यालयले वडा स्तरीय ज्येष्ठ नागरिक समितिलाई बाध्यवादनको सामग्री हस्तान्तरण गरेको छ । वडा स्तरीय ज्येष्ठ नागरिक समितिका अध्यक्ष विनोद प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा महिला विकास अधिकृत दीपा घिमिरे, एमालेका वडा कमिटी अध्यक्ष विष्णु पौडेल, नगर स्वास्थ्य केन्द्र टरौलीका प्रमुख गोविन्द प्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव दिनेश सुवेदीले सञ्चालन गरेका थिए । विश्रामकक्ष निर्माणको लागि वडा कार्यालयले एक लाख रुपैया लगानी गरेको छ । कार्यक्रममा झुवानी मध्यवर्ती मौलिक संस्कृति संरक्षण समितिले स्वागत स्वरुप भजन प्रस्तुत गरेका थिए ।
