जेठ २७, चितवन । रत्ननगर उद्योग वाणिज्य संघमा श्रव्यदृश्य तथा फोटोग्राफी तालिम सुरू भएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा संघले आयोजना गरेको उक्त कार्यक्रममा रत्ननगरका ३५ जना युवाहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले युवाहरुलाई सीप विकासमार्फत स्वरोजगार बनाउने र महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले चरणबद्धरुपमा तालिम सञ्चालन गरिएको बताए ।

संघले व्यावसायिक सुरक्षासँगै सामाजिक उत्तरदायित्व तथा सीप विकासका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले श्रव्यदृश्य तथा फोटोग्राफीमा युवाहरुको आकर्षण बढ्दै गएको बताए । रत्ननगर उवासंघका पूर्वअध्यक्षद्वय ज्ञानबहादुर विसुराल र केशवनारायण श्रेष्ठले सूचना प्रविधिको युगमा श्रव्यदृश्य तथा फोटोग्राफी तालिम फलदायी हुने विश्वास व्यक्त गरे । संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए ।

६ दिनसम्म चल्ने उक्त तालिममा आभास टेलिभिजनका सञ्चालक कोमलचन्द्र भगत, फोटोग्राफर अंकित भगत र भिडियो ग्राफर सन्तोस सुनारले तालिम दिनेछन् ।