चितवन, असार ४ ।
चितवनको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३ औं कार्यपालिका बैठकले वातावरण प्रदुषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामग्रीमा रोक लगाउने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार प्लाष्टिकजन्य वस्तुका कारण वातावरणदेखि मानव स्वास्थ्यमा समेत प्रभाव पारेकाले यसलाई रोक लगाएको हो । उद्योग वाणिज्य संघ माडी शाखासँगका सहकार्यमा प्लाष्टिकजन्य वस्तुमा रोक लगाएको उहाँले बताउनुभयो ।
बैठकले निर्णय गरेसँगै आकस्मिक अनुगमनदेखि समुदायमा सचेतना जगाउने लगायतका काम सुरु गरिएको उहाँले बताउनुभयो । प्लाष्टिकजन्य झोला सहित गिलास र अन्य सामग्रीमा रोक लगाइएको उहांले बताउनु भयो । वातावरण प्रदुषण नियन्त्रणसँगै समाजलाई यसको प्रयोगले हुने हानीका बारेमा नगरपालिकाले जानकारी गराउन लागेको छ । प्लाष्टिकको गिलासमा चिया बिक्री बितरण गर्ने र प्लाष्टिका सामग्री प्रयोग गर्ने गर्दा फोहोर व्यवस्थापनमा समेत समस्या भएकाले यसलाई रोकिएको उहाँले बताउनुभयो । अहिले प्लाष्टिकजन्य वस्तु रोक्नका लागि संयुक्त अनुगमन सहितका कामहरु भइरहेको छ ।नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले माडीलाई प्लाष्टिकमुक्त नगरपालिका घोषणा गर्न लागिएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले घेरिएको पालिका भएकाले प्लाष्टिकले वन्यजन्तुसँगै मानव स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले प्लाष्टिकजन्य झोला र अन्य वस्तुहरुमा रोक लगाउन खोजिएको हो । प्लाष्टिकजन्य वस्तुले जमिनको उर्वराशक्तिमा समेत ह्रास ल्याउने हुंदा यसले माडीको इको प्रणालीमा समेत असर गर्ने देखेर रोक लगाएको उहाँले बताउनुभयो । रासस