१२ माघ, चितवन । चितवनको भरतपुरमा चितवन मेडिकल कलेजले नयाँ क्यान्सर अस्पतालको उद्घाटन गरेको छ । चितवन मेडिकल कलेजले स्थापना गरेको “सिएमसी क्यान्सर इन्स्टिच्यूट” को आज औपचारिक उद्घाटन गरिएको छ । कलेजको १६ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेले इन्स्टिच्यूटको उद्घाटन गर्नुभएको हो । चितवन मेडिकल कलेजले भगनी संस्थाको रुपमा सीएमसी क्यान्सर इष्टिच्यूटका नाममा एक सय बेड क्षमताको क्यान्सर अस्पताल निर्माण गरी औपचारीक रुपमा सञ्चालनमा ल्याएको छ।
सीएमसीले श्रीपञ्चमीको दिनदेखि औपचारीक रुपमा आफ्नो सेवा सुरु गरेको कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले बताउनु भयो । अस्पतालको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उद्घाटगर्नु भएको हो । कलेजको पूर्वतर्फ झण्डै दुई अर्बको लगानीमा नयाँ क्यान्सर अस्पताल निर्माण गरिएको छ । पछिल्लो समयमा विभिन्न कारणबाट बढ्दै गएको क्यान्सर रोगको उपचारलाई सहज र सुलभ बनाउन अत्याधुनिक उपकरणसहित दक्ष विषेशज्ञहरुका साथ सेवा प्रदान गर्ने उद्देश्य राखेर अस्पताल सञ्चालन गरिएको डा. न्यौपानेले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले इन्स्टिच्युटको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै डा. पोखरेलले क्यान्सरको उपचारका लागि सरकारी, निजी, मेडिकल कलेज नभनी हातेमालो गर्दै उपचार गर्नुपर्ने बताउनुभयो । सचिव डा. पोखरेलले रेडिएसनको विषयमा संघीय सरकारको निगरानीमा तीन पटक अनुगमन निरीक्षण भईसकेको जानकारी दिनुभयो । अस्पतालमा क्यान्सर रेडियसन लगायतका सेवा सञ्चालनमा आइसकेका छन् । रक्तक्यान्सर बाहेक सम्पूर्ण क्यान्सरको परीक्षण, निदान र उपचार हुने गरी व्यवस्था मिलाइएको छ । क्यान्सर अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिसकिएको छ । सो मेसिनमा सिक्स डी काउच र हाइपर आर्क प्रविधि छ । अस्पतालले सरकारले क्यान्सरको उपचारका लागि दिने एक लाख र बागमती प्रदेश सरकारले उपलब्ध गराउने ५० हजार बराबरको उपचार सुविधा पनि उपलब्ध गराउने छ । अस्पतालको ओपीडीमा आएकामध्ये ६ हजार ६३ जना नयाँ क्यान्सरका बिरामी थपिएका छन् । क्यान्सरका बिरामीहरुको कतिपय परीक्षणहरु गर्न नमूनाहरु भारत पठाउनुपर्ने अवस्था रहेकोमा त्यसलाई रोक्नेका लागि चितवन मेडिकल कलेजमा नै ‘ए’ ग्रेडको ल्याब सञ्चालनमा आएको छ । क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सकहरुले उपचार गर्नेछन् । 

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनाल, चितवन मेडिकल कलेजका अस्पताल निर्देशक डा. दयाराम लम्साल, सिएमसीका शैक्षिक विभाग निर्देशक डा.गोपेन्द्र देव, इन्स्टिच्यूटका प्रमुख डा. सुवास ठाकुर लगायतले बोल्नु भएको थियो । कार्यक्रममा कलेजका विद्यार्थी तथा कर्मचारीहरुले सांस्कृतिक प्रस्तुत दिएका थिए ।