२० जेठ, चितवन ।
चितवनको माडी नगरपालिका–१ रहेको बोट होम स्टेमा यतिबेला पर्यटकको आवागमनले भरिभराउ छ । २०७७ सालमा गाउँमा ‘बोटे सामुदायिक होमस्टे’ खोलेपछि यहांका महिलाहरूको दैनिकी अहिले फेरिएको छ । गाउँमा होमस्टे खुल्नुभन्दा अगाडिसम्म दैनिक गुजारा चलाउनका लागि माछा मार्न जाने, जंगलमा घाँस–दाउरा खोज्ने र निहुरो टिप्ने काम गर्ने यहाका महिलाहरुको होमस्टे सञ्चालनमा आए संगै दैनिकि फेरिएको छ । हामेस्टेमा आउने पाहुनालाई मौलिक खाना मौलिक सांस्कृतिक कार्यक्रम देखाउन यहांका महिलाहरु व्यस्त देखिन्छन् । उनिहरु भन्छन् अहिले त अर्को जीवन पाएजस्तो भएको छ, होम स्टे सञ्चालनले बोटे महिलाहरुको जीवनमा पनिे परिवर्तन ल्याएको छ । पहिला दैनिक घाँस–दाउरा र माछा मार्न जाने यहांका महिलाहरु अहिले गाउँमा आउने पाहुनाहरूको स्वागत र सत्कारमा जुट्ने गर्छिन् । होमस्टे सञ्चालनबाट आएको रकमले जीवनमा थोरै भए पनि परिवर्तन ल्याएको छ । ‘होमस्टेबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घरव्यवहार चलाउने जस्ता काममा धेरै सजिलो भएको उनीहरुको भनाइ छ । होम स्टेले आर्थिक उपार्जनसँगै संस्कृति संरक्षणमा जोड दिएको छ । माडीको रिउ नदी तरेपछि मूल सडकको सेरुवा गेटबाट १५०० मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक होमस्टे पुगिन्छ । होमस्टे बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भूपरिधि कार्यक्रम (ताल) ले आर्थिक सहयोग गरेका छन् । १० लाखभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुई कोठाको होमस्टे बनाइएको छ । यस क्षेत्रमा १२ वटा होमस्टे छन् जहाँ एक रातमा ६० जनासम्म अटाउन सक्छन् । होमस्टेमा आउने पर्यटकलाई उनीहरूले आफ्नो संस्कृति अनुसार ‘बिन्ती बाटी’ (बोटे समुदायमा आफूभन्दा ठूला मान्यजन तथा पाहुनालाई गरिने सम्मान) गरेर स्वागत गर्दछन् । टीका र फूल दिएर स्वागत गर्दै बाँसैबाँसले बनाइएको सामुदायिक भवनमा लगेर राख्छन् । माछामा नै आश्रति रहेर जीविकोपार्जन गर्ने समुदाय भएकै कारण पर्यटकहरूलाई सुरुमा माछाको चोखा –अचार) र छ्याङ्ग दिएर स्वागत गर्छन् । बस्ने होमस्टेहरूसम्म पाहुनालाई लैजान्छन् । होमस्टेको एक रात बसेको ६०० रुपैयाँ र मासु सहितको खानाको ३०० रुपैयाँ लिन्छन् । पाहुनालाई हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादनहरू साग, निहुरोको तरकारी, माछाको आचार, घोंगी, बाँसको तामाको चोखा जस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकारहरू खुवाउने गर्दछन् । होमस्टेमा बसेका पाहुनालाई मनोरञ्जन दिन नाचगान लगायत सांस्कृतिक कार्यक्रम गर्छन् । सोहोर्ना, जगिया, गोलेनी, सोल्टी–सोलोटना, सोरठी, मारुनी लगायतका कला र नाचहरू प्रदर्शन गरिन्छ । यीमध्ये जगिया, सोहोर्ना, गोलेनी बोटे समुदायको परम्परागत संस्कृति झल्कने नाच हुन् । पाहुनाका लागि सांस्कृतिक प्रस्तुति दिनका लागि अलग्गै १५÷२० जनाको टिम नै बनाइएको छ । सांस्कृतिक कार्यक्रम हेर्नका लागि एउटा समूहले तीन हजार रुपैयाँ बुझाउनुपर्दछ । होमस्टे खुलेपछि बोटेको लोपोन्मुख संस्कृति संरक्षणमा टेवा पुगेको कोषाध्यक्ष जगनारायण बोटे बताउँछन् । पाहुनाहरूलाई होमस्टेबाट ५०० मिटर पर रहेको गोद्दकनाथ मन्दिर, १ किलोमिटर पर रहेको पाँचपाण्डव, डेढ किलोमिटर पर रहेको अष्टशिव लिङ्ग, ४ किलोमिटर पर रहेको परशुराम कुण्डसम्म भ्रमण गराइन्छ । होमस्टे संचालनमा आएसँगै स्थानीयले तरकारी खेतीसँगै कुखुरा, हाँस, बाख्रा र माछापालनलाई व्यावसायिक बनाउन थालेका छन् । गाउँमा समूह समेत गठन गरेर रकम संकलन गर्ने र व्यवसाय गर्न चाहनेहरूलाई ६ प्रतिशत ब्याजमा ऋण समेत दिने व्यवस्था गरिएको छ । काठमाडौं, पोखरा, भैरहवा लगायत ठाउँबाट आन्तरिक पर्यटक र जर्मनी लगायत देशबाट करिब १०० पर्यटक आएको होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले जानकारी दिए । होमस्टेबाट दुई वर्षमा ५ लाखभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए । होमस्टे सञ्चालनपछि स्थानीय महिलाको नेतृत्व र क्षमता विकास समेत भएको छ ।