चितवन, पुस २७ । तस्विर : अंकित भगत ।
१५ औं चितवन महोत्स्वको तेस्रो दिन उल्लेख्य दर्शकहरुले महोत्स्वको अवलोकन गरेका छन् । आज शनिबार विदाको दिन पनि भएकाले अवलोकनकर्ताहरुको भिडले महोत्सव परिसरमा निकै भिड रहेको थियो । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको चितवन महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइएको छ । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने विश्वासले यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखेका आयोजकले जानकारी दिएको छ ।
अघिल्ला वर्षमा १० दिनमात्रै गर्दै आइएको महोत्सव यसपटक पाँच दिन थप गरेर १५ दिन पु¥याइएको छ । यस महोत्सवमा विदेशी उत्पादनसहित स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको छ । महोत्सवमा स्थानीय उत्पादनसहित अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहेको छ ।
यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिएको छ । सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न सङ्घसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित चार सय ३० वटा कक्ष रहने महोत्सवमा बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्नेगरी भरतपुर महानगरपालिकाको समन्वयमा रोजगार परिसर राखिएको छ।
नारायणी नदि किनारमा जारी महोत्सवमा हरेक दिन स्थानीय र राष्ट्रिय कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु दिइरहेका छन् । आज हेमन्त शर्मा र एलिना चौहानको सांस्कृतिक प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । महोत्सवको चौंथो दिन भोलि पुष २८ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ बजेपछि कलाकार अस्मिता अधिकारी र थानेश्वर गौतमको प्रस्तुती रहने छ । त्यसैगरी बिहान ११ः३० बजेपछि यात्रा ः हस्टलरको लाइभ ब्याण्ड रहने छ ।
यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, प्रतिभा मञ्च–२०८१ विजेत कावासोती, कविलास इकाइ समिति कविलास चितवन, कलश मन्टेश्वरी चितवन, तमु ह्युल छोंजु धि चितवन, नेपाल तामाङ धेदुङ चितवन, भुजेल सेवा समिति चितवनको प्रस्तुती रहने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
पन्ध्र दिनसम्म चल्ने महोत्सवमा आन्तरिक र बाह्य पर्यटकसहित पाँच लाख दर्शकले अवलोकन गर्ने र रु ३० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । चितवन महोत्सव वि.सं २०५३ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको छ । यो वर्षको महोत्स्व १५ औं संस्करण हो ।