News


चितवन, जेठ ५ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर ६ देवनगरमा निर्माण भएको ३३र११ केभी २०र२४ एमभीए क्षमताको सवस्टेसनको उद्घाटन गर्नुभएको छ । शनिबार एक कार्यक्रमका बीच प्रमुख दाहाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सबस्टेशनको उद्घाटन गर्नुभएको हो ।
भरतपुर महानगर प्रमुख दाहालले भरतपुरमा भइरहेको तीब्र सहरीकरणसँगै विद्युत आपूर्तीमा देखिएको समस्या समधान गर्न देवनगर सवस्टेशन सञ्चालनमा ल्याइएको बताउनुभयो । पश्चिम चितवनको मेघौलीमा पनि ४ विघा क्षेत्रफलमा सवस्टेशन निर्माण गर्न लागिएको उहाँको भनाई छ ।
‘मेघौलीको सवस्टेशन सञ्चालनमा आएपछि सबै समस्या हटेर जान्छ,उहाँले भन्नुभयो,‘५० वर्षलाई हेरर भरतपुरको गुरुयोजना निर्माण भएको छ । अबको ५० वर्षसम्म कुनै समस्या आउदैन।’
भरतपुरमा नेपाल विद्युत प्राधिकरणबाट महत्वपूर्ण कामहरु भएको पनि उहाँले स्मरण गर्नुभयो । भरतपुरका मुख्य सहरी क्षेत्र बाईपास रोड, पुलचोक गोन्द्राङ सडकमा भूमिगत विद्युतिकरण, ८० किमिमा स्मार्ट स्ट्रीट लाईट, बासपार्कमा चार्जिङ स्टेशन र फेरि पनि १५० किमी स्ट्रीट लाइटको काम हुन लागेको जानकारी दिनुभयो ।
उहाँले उज्यालो भरतपुर बनाउन आउँदो तिहारसम्म स्ट्रीट लाइटको काम सम्पन्न गर्न प्राधिकरणका निर्देशक घिसिङलाई अनुरोध पनि गर्नुभयो ।
यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरमा प्राधिकरणले कुनै पनि काम गर्दा स्थानीय तहले गर्ने समवन्य देशभरमै उत्कृष्ट पाएको बताउनुभयो ।
भरतपुरलगायत देशका प्रमुख सहरहरुको ५० वर्षिय गुरुयोजना तयार भई त्यही अनुसार काम अगाडि बढाइएको जानकारी दिनुभयो ।
भरतपुरमा भइरहको तीब्र सहरीकरणका कारण गुरुयोजनालाई थप परिस्कृत र परिमार्जित गरिएकाले ५० वर्षको लागि विद्युत आपूर्तीको समस्या नहुने गरी बनाइएको सो अवसरमा बताउनुभयो ।
उहाँले नेपालको ९९ प्रतिशत जनताको पहुँचमा विद्युत पुगेकाले चितवनका केही स्थान अझै पनि विद्युत नपुगेकाले त्यहाँ छिट्टै पुग्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो । माडीको विद्युतमा देखिएको समस्या समधान गर्न छिट्टै नयाँ तार बिच्छाइने उहाँको भनाइ थियो । त्यस्तै माडीको बादरझुलामा पनि विद्युत विस्तारको काम अघि बढाइने बताउनुभयो । सवस्टेशनमा ४ वटा फिडर रहेका छन् । सवस्टेशनले भरतपुर महानगरको वडा नं। ५,६,८,९, १३, १४, १५, २२ र २३ मा गुणस्तरीय विद्युत सेवा वितरण गर्ने छ ।
नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेशन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेशनको लागत झन्डै साढे ९ करोड रुपैयाँ रहेको आयोजना प्रमुख सङ्गीता कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायतले मन्तव्य राख्नु भएको थियो ।


चितवन, जेठ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८/०८२ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ ।
बिहीबार महानगर सभाहलमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल तथा अन्तरक्रिया गरी समृद्ध महानगर निर्माण गर्ने नीतिहरु संकलन गरिएको थियो ।
भरतपुर महानगरपालिकाले १५ औ नगरसभाका लागि तयारी तीब्र पारेको हो । छलफलका क्रममा आएका मागहरुलाई लिपिवद्ध गरेको छ ।
छलफल कार्यक्रममा अधिकांश वक्ताहरुले आगामी आर्थिक वर्षमा उत्पादन, रोजगारी र बजारीकरणलाई जोड दिएका छन् ।
अबको नीति तथा कार्यक्रमले धेरै उत्पादन भएर दूध, गोलभेडा सडकमा फाग्ने अवस्था अन्त्य गर्नुपर्ने नीति ल्याउनुपर्ने धाराणा राखेका थिए ।
यस्तै शिक्षालाई प्रयोगात्मक बनाउनुपर्ने, आईटी शिक्षालाई विद्यालयस्तरबाटै लागु गर्नुपर्ने, आयमुलक सीपमूलक तालिम, युवा व्यवसायीलाई प्रोत्सहान गर्ने कार्यक्रम, स्थानीय उत्पादनलाई प्रोत्सहान, वडागत शिक्षाको बजेटमा १० प्रतिशतभन्दा वृद्धि गर्नुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथामिकता, घरको फोहर घरमै व्यवस्थापन गर्ने नीति ल्याउनुपर्ने सुझाव आएका थियो ।
कार्यक्रममा भरतपुर महानगरका राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारीले अब समेट्नु पर्ने नीतिबारे जोड दिएका थिए ।
सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक ईमेलमा पठाउन अनुरोध पनि गरेको छ । महानगरको आधिकारिक ईमेल  This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा राय सुझाव पठाउन सकिने छ । महानगरले यस अघि सडक पूर्वाधारलाई प्राथमिकता दिएपनि यस पटक भने उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेको जनाएको छ ।


चितवन, जेठ ३ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताउनुभएको छ ।
बिहीबार भरतपुर ७ मा निर्मित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाको ३ तले भवन उद्घाटन कार्यक्रममा उहाँले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा अनुदान दिन सुरुवात गरेको भन्दै उहाँले कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिदै आइरहेको बताउनुभयो । भरतपुरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु सरी हाल ३ रुपैयाँ पुराएको छ । यसबाट १० हजार कृषक लाभान्वित भएका छन् । ‘भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ, उहाँले भन्नुभयो,‘ ५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ । ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्याङ्क छ । भरतपुर दूधमा अत्मनिर्भर छ ।’ महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको उल्लेख गर्नुभयो । उत्पादन भनेको कृषि हो, यो सँगै सौन्दर्यकरण, सरसफाईलाई जोड दिइएको छ–उहाँले भन्नुभयो । प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताउनुभयो । साझेदारीमार्फत ट्याक्टर, मिल्क ऐनालाईजर,हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उहाँको भनाई छ । कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उहाँको भनाई थियो ।भरतपुरमा भूमिगत सिँचाईमार्फत ७ हजार विघामा सिंचित भइरहेको र नारायणी लिफ्ट सिँचाईलाई १२ महिना सञ्चालन गर्न महानगरले बजेट विनियोजन गरी काम अघि बढाउने उहाँको भनाई छ । प्रेमवस्ती कृषि सहकारीले दैनिक १ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ भने आफ्नै फर्म सञ्चालन गर्दै आइरहेको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको विकास पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनासलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष आन्नद प्रसाद न्युरेको अध्यक्षतामा भएको थियो ।

Subcategories