News

फागुन ९, काठमाण्डौं ।  काठमाडौँको नागार्जुन नगरपालिका–६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । 

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको शव पनि घरभन्दा केही पर जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजी विककै हात रहेको अनुमान गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । घटनाको थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

फागुन ९, रत्ननगर । तस्विर : कोमल चन्द्र भगत ।  पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरमा उपचार गराउन आउने बिरामीको संख्या निरन्तर बढ्दै गएको पाइएको छ । केन्द्रले बुधबार स्थानीय पत्रकारसँग गरेको अन्तर्क्रिया कार्यक्रममा दिइएको जानकारीअनुसार चालू आर्थिक वर्षको छ महिनामा २४ हजार तीन जना बिरामीले कार्यालयबाट विभिन्न सेवा लिएका छन् । बहिरङ्ग चिकित्सा सेवामार्फत सबैभन्दा बढी ७ हजार ७ सय ९१ जनाले सेवा लिएका छन् । यसैगरी, योग सेवा २ हजार ६ सय १०, पूर्वकम÷पञ्चकर्म सेवा ५ हजार ५ सय २७, ज्येष्ठ नागरिक सेवा १ हजार ९ सय ७५, स्तनपान आमा तथा शिशुसेवा १२०, नागरिक आरोग्य स्वास्थ्य सेवा २ हजार ७ सय ७९, प्रयोगशाला सेवा २ हजार ५ सय ४४, अकुपञ्चर सेवा ३३५, फिजियोथेरापी सेवा २८२ र अल्ट्रासाउन्ड सेवा ४० जनाले लिएको डा. कोपिला अधिकारीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा यी सबै सेवा लिनेको संख्या ४९ हजार ५ सय १३ थियो । केन्द्रका अतिरिक्त औषधालय, नागरिक आरोग्य सेवा केन्द्रहरु र जीवनशैली सेवामार्फत जिल्लाभरि सेवा दिँदै आएको छ । भरतपुरको शिवघाट, देवघाट, गुञ्जनगर, पटिहानी, मेघौली र डालेटारमा आयुर्वेद औषधालय रहेका छन् । यसका अतिरिक्त माडी र राप्तीको वीरेन्द्रनगरमा यी सेवा रहेका छन् । कालिका नगरपालिकाको सगुनटोल, खैरहनी नगरपालिकाको कुमरोज र इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा नागरिक आरोग्यसेवा केन्द्रहरु सञ्चालनमा छन् । केन्द्रले मुख्यमन्त्री जनता स्वास्थ्य, प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, स्वास्थ्य जीवन प्रवद्र्धनलगायत कार्यक्रम गर्दै आएको छ । यसैगरी, योग तथा पूर्वकर्म अभिमुखीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, कर्मचारी पुनःताजगी योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको डा. अधिकारीले जानकारी दिनुभयो ।

केन्द्रले नमुना जडीबुटी उद्यान निर्माण, विद्युत् आयुर्वेद तथा योग शिक्षा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, नागरिक आरोग्यसेवा तथा अभियान, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धनजस्ता कार्यक्रम पनि गर्दै आएको छ । केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद औषधि उपचारको व्यापक प्रचारप्रसार गर्नसकेमा यसले मानवस्वास्थ्य उपचारमा सहयोग पुग्ने बताए । केन्द्रको भौतिक पूर्वाधार र सेवा विस्तारसँगै बिरामीको आकर्षण बढेको उहांको भनाइ छ । केन्द्रलाई आगामी साउनदेखि २५ शैयाको अस्पतालको रुपमा विकास गरिँदै छ । हाल केन्द्रको अस्पताल भवन निर्माणाधीन छ । यससँगै विशेषज्ञ चिकित्सकसहितको दरबन्दी थप हुने र अन्तरङ्ग सेवा सुरू हुनेछ ।

खैरहनी । खैरहनी नगरपालिका वडा नं-२, चैनपुरस्थित बन्दै गरेको हर्बल कम्पनीको पर्खालनजिकै एक युवकको शव फेला परेको छ ।

खैरहनी वडा नं २ बस्ने २४ वर्षीय कृष्णप्रसाद खनालको घाँटीमा धारिलो हतियार तरकारी काट्ने चक्कु रोपिएको अवस्थामा शव फेला परेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subcategories