News

पौष २, नारायणगढ ।
भरतपुर महानगरपालिका वडा नं. ३ ले विपन्न तथा गरिब परिवारलाई न्यानो कपडा वितरण गरेको छ । वडा अध्यक्ष विकास थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडास्तरीय बजेटबाट वडा भित्र ८० परिवारलाई २ लाख रुपैंया बराबरको न्यानो कम्बल वितरण वितरण गरिएको हो । वडा सदस्य कमला देवी बोलखेले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा राम बहादुर लोहनी, वडा सदस्य एवं कार्यपालिका सदस्य शुकमाया परियार, माधव अर्याल लगायतले मन्तव्य राख्नु भएको थियो ।

चितवन, १ पुस । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ ।

निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन् । गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक पस्दा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो । बाघ हेर्ने अवसर भरतपुर भ्रमण वर्षले दिन लागेको हो ।

भरतपुर महानगरपालिका–६ देवनगरस्थित निकुञ्जको रेञ्जपोष्ट क्षेत्रमा दक्षिणकाली सामुदायिक वनभित्र वन्यजन्तु उद्धार केन्द्रमा बाघ देखाउन लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सकेसम्म सन् २०२४ जनवरी १ तारिखबाट नै पर्यटकका लागि बाघ देखाउने तयारी गरिएको छ । बन्दै गरेको खोर र मचान सम्पन्न गर्न दुई चार दिन ढिलो भए पनि पुस महिनाभित्र नै बाघ देखाउने तयारी छ ।

 निकुञ्जले रु ५० लाखमा बाघका लागि पक्की खोर बनाउँदै छ । भरतपुर महानगरपालिकाले अर्को रु ५० लाख थप गरेर सडक र दुई मचान घर बनाउँदै छ । बीस हजारी ताल व्यवस्थापन बोर्डले टिकट काटेर बाघ देखाउने व्यवस्थापन हेर्दैछ । टिकटकबाट उठेको पैसाले बाघको पालनपोषण गरिने छ ।

निकुञ्जको कसरामा चार वटा र सौराहामा दुई वटा हिंस्रक बाघ छन् । तिनैमध्येका एक वा थप नियन्त्रणमा लिनुपर्ने अवस्था आएमा अर्को बाघ खोरमा राखेर देखाइदैछ । त्यही उद्धार केन्द्रमा गैँडा, हात्ती, लगायतका वन्यजन्तु उद्धार गरेर ल्याइदै छ । तिनीहरुको संरक्षणसँगै पर्यटकका लागि गन्तव्य बनाउन लागिएको हो ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा यहाँ आउने पर्यटकका लागि दुर्लभ पाटे बाघ देखाउन लागिएको बताउनुभयो । महानगरको अनुरोधमा निकुञ्जले बाघ हेर्ने व्यवस्था मिलाउन लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “वन्यजन्तु उद्धार केन्द्रमा हेर्नका लागि मचान र पुग्नका लागि सडकको व्यवस्थापन महानगरले गरिरहेको छ ।”भरतपुर महानगरपालिकाको धेरै भागले निकुञ्ज छुने गर्दछ । यहाँको कसरा र मेघौलीबाट निकुञ्ज प्रवेश गर्न सकिन्छ । पर्यापर्यटनका हिसाबले निकै महत्वपूर्ण भएर पनि आवश्यक प्रचार नहुँदा पछि परेको महसुस गर्दै भ्रमण वर्षको आयोजना गरेको हो । महानगरको निकुञ्जसँगैको राप्ती नदी तटीय क्षेत्रमा पर्यटकीय सुविधासम्पन्न होटल छन् । शान्त र रमणीय ठाउँ भएका कारण पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटक यसै क्षेत्रमा आउने गरेका छन् ।

 

पौष १, रत्ननगर ।रत्ननगर । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नदी तथा वनमा आश्रित विपन्न समुदायका युवाहरुको लागि सौराहामा आइतबार देखि सीपमुलक तालिम सुरु गरिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र सपना भिलेज सोसियल इम्प्याक्टको सयुक्त आयोजनामा कफि बारिस्ता, हस्पिटालिटी तथा कफि मेसिन मर्मत बनाउने तालिम सुरु गरिएको छ । दुई संस्थाको ५० / ५० प्रतिशत गरी १३ लाखको लगानीमा ४९ जना युवाहरुको लागि तालिम सुरु गरिएको हो । सौराहामा आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधि सभा सांसद हरि ढकालले सो तालिमको उद्घाटन गरेका छन् । पछिल्लो समय कफीको बजार बढ्दै गएको कारण यसबाट रोजगारी र्सिजना हुने सम्भावना देखिएपछि तालिम सुरु गरिएको सपना भिलेजका अध्यक्ष ध्रुब गिरिले जानकारी दिए । आर्थिक अबस्था कमजोर भएका युवाहरुलाई सीप मुलक तालिम दिएर रोजगारीको अबसर सृजना गर्ने र उनीहरुलाई विदेश जानबाट रोक्ने उद्देश्यले तालिम दिइएको उनको भनाई छ । तालिम लिएका युवाहरुलाई व्यवसाय सञ्चालनको लागि सहयोग गर्ने भन्दै सौराहामै यसको सम्भावना रहेको गिरीले बताए । हामीले सम्भावनाको खोजी गरेरै तालिम आयोजना गरेका हौं उनले भने तालिम लिएका युवाहरुले सौराहामै व्यवसाय सञ्चालन गर्न सक्ने अबस्था रहेको छ ।

४५ दिने सो तालिममा आधुनीक कफि बनाउन सिकाउने, होटलमा पाहुनालाई गर्ने स्वागत र सत्कार तथा कफी मेसिन मर्मत गर्न सिकाइने छ । सपना कफी रिसर्च एण्ड ट्रेनिङ सेन्टरका सुदिप भट्टराई र लोकनाथ रिजालले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिनेछन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद ढकालले राजनीतिक बेतिथिका कारण युवा शक्ति विदेशिने क्रम बढिरहेका बेला सौराहामा आयोजना गरिएको तालिमले रोजगारी र्सिजना गर्ने बताए । उनले कफि बारिस्ता बनाउने तालिम लिएका ४९ जना युवाहरुलाई व्यवसाय सञ्चालनको लागि सहयोग गर्ने बताए । कार्यक्रममा संस्थापक मेयर नारायण वनले मध्यवर्तीका युवाहरुको लागि आयोजना गरिएको तालिम फलदायी हुने विश्वास व्यक्त गरे । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगानाले समाज आयआर्जन मार्फत युवाहरुलाई संरक्षणमा जोड्नु पर्नेमा जोड दिए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले सीप मुलक तालिम मार्फत दीगो आयआर्जनको आधार तयार गरिने बताए । सपना भिलेजसंगको सहकार्यमा मृगकुञ्जले यस अघि २० जना महिलाहरुलाई नेचर गाइड र ४४ जना मुसहर महिलाहरुलाई दिएको तरकारी खेती तालिमले प्रतिफल प्राप्त गरेको भन्दै कफि बारिस्ता तालिम पनि फलदायी हुने बताए  कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महतो, चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख शान्ताबहादुर रानामगर, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ लगायतले मन्तव्य राखेका थिए । मृगकुञ्जका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम कार्यसमिति सदस्य सरस्वती लामाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा मृगकुञ्जका कार्यसमिति सदस्य बद्धिमान विकले स्वागत मन्तव्य राखेका थिए ।

Subcategories