News

पौष १७, भरतपुर ।

नेपाल कुखुरा व्यवसायी मञ्च र बागमती प्रदेशको कृषि तथा पक्षी विकास मन्त्रालयको संयुक्त आयोजनामा १० औं राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइएको छ । कार्यक्रममा मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्माले अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान चारदेखि पाँच प्रतिशत रहेको बताए ।
आर्थिक वर्ष २०७७÷०७८को तथ्यांक अनुसार कृषिजन्य कूल ग्राहस्थ उत्पादनमा पोल्ट्रीले आठ प्रतिशत ओगटेको शर्माले बताए । अर्थतन्त्रमा बलियो योगदान दिने पोल्ट्री क्षेत्रबाट वार्षिक मासु उत्पादनमा ४३ प्रतिशत क्षेत्र ओगटेको जानकारी दिए । नेपालमा कूल पाँच लाख २० हजार सात सय ४२ मेट्रिकटन मासु उत्पादन हुने गरेकामा पोल्ट्री क्षेत्र (कुखुरा र हाँस) ले दुई लाख २७ हजार चार सय एक मेट्रिकटन मासु उत्पादन गरेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा फिजिसिन डा. भोजराज अधिकारीले मानव स्वास्थ्यका लागि मासु र अण्डाको महत्वबारे प्रकाश पारेका थिए।

डा. अधिकारीले मानव स्वास्थ्यका लागि आवश्यक सम्पूर्ण तत्व अण्डा र कुखुराको मासुमा हुने बताउंदै बिहान खाजाका रुपमा अण्डाको प्रयोग प्रत्येक दिन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुने बताए । उद्योग सङ्घका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण आर्थिक क्षेत्र चलायमान बन्न नसक्दा चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा ल्याउन खोज्दा व्यवसायी मर्कामा परेको बताएका थिए । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले बैंकहरुका कारण व्यवसायी पलायन हुन थालेको बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन प्रा डा होमबहादुर बस्नेत, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, ह्याचरी उद्योग सङ्घका अध्यक्ष ऋषिराम पौडेल, नेपाल दाना उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने लगायतले पोल्ट्री व्यवसायको समस्या समाधानमा जोड दिएका थिए।

 

चितवन, पुस १७ ।

होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । आज नारायणगढमा भएको पत्रकार सम्मेलनमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले पुस १९ र २० गते भरतपुरको धावन रिक्रियसनमा सम्मेलन गर्ने जानकारी गराएका हुन् । संघले समग्र व्यवसायलाई नै पर्यटन मैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकोले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरेको छ । सम्मेलनमा देशभरका प्रदेश संघ, जिल्ला संघ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै करिब ७०० प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनको दोस्रो दिन भरतपुर महानगरपालिकाभित्र प्रतिनिधि र पर्यवेक्षकका लागि निःशुल्क सवारीसाधन सञ्चालन गरिने व्यवस्था मिलाएको संघले जनाएको छ । होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोरोना तथा आर्थिक मन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको बताए । सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्ने चुकेको भनाइ छ । ’ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रममा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुती र कार्यशालाहरु पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिए । सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चितवनका होटल व्यवसायी दिनेशकुमार चुके अध्यक्षको मुख्य दाबेदार रहेका छन् । विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी संघको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो । यसपटक हुने चौथो अधिवेशन तथा दशौं वार्षिक साधारण सभा उद्घाटन अघि भरतपुरको चौबिस कोठीबाट उद्घाटन स्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली गरिने जनाइएको छ ।

१२ पुस, काठमाडौं ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको कामलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डको नीजि निवास खुमलटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने र सरकारलाई प्रभावकारी कसरी बनाउने बिषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । त्यस्तै वर्तमान सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले गरेको निर्णयलाई कार्यान्वयनको तहसम्म पुराउने बिषयमा पनि छलफल भएको उहाले बताउनुभयो । सरकारको साझा कार्यक्रमका साथै पदको भागबण्डा लगाएतका बिषयमा छलफल गर्न बिहीबार सत्ता साझेदार दलहरुको बैठक बस्ने र आवश्यक निष्कर्ष निस्कने मल्लले जानकारी दिनुभयो । त्यसअघि बुधबार नै प्रधानमन्त्री र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको र छलफलका क्रममा सरकारलाई समर्थन र सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले आग्रह गर्नुभएको मल्लले बताउनुभयो । जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय गर्ने बताउनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव मल्लले जानकारी दिनुभयो ।

Subcategories