For news and programs, please contact us at +977 9855056039 .
पुष १७ , नारायणगढ ।
होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज चौँथो दिन हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुली लगायतका कलाकारहरु आउने भएका छन् । होटल व्यवसायी संघका सचिव कृष्ण महतोका अनुसार आज सुवोध गौतम, प्रजापती पराजुली, ढाकाराम पौडेल, तारा थापा लगायत स्थानीय कलाकारहरुले प्रस्तुती दिने छन् । फुड फेस्टिबलमा हिजो राति द स्याडोज व्याण्डले प्रस्तुती दिएको थियो । फुड फेस्टिबलमा दर्शकहरुले उत्साहजनक सहभागीता जनाएको सचिव महतोले जानकारी दिए । ‘दर्शकहरुको राम्रो साथ पाइरहेका छौँ । ३०० रुपैयाँको टिकट काटेर पनि हजारौँ दर्शकले फुड फेस्टिबल र सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नुभयो । आजदेखि टिकट छैन । प्रवेश निःशुल्क भएपछि झन् धेरै जना आउने अपेक्षा गरेका छौँ’, उनले भने । आज र भोलि प्रवेश निःशुल्क रहेकोले झन् धेरै दर्शक आउने अपेक्षा गरिएको उनले बताए । फुड फेस्टिबल भोलि (बुधबार) सम्पन्न हुने छ । बुधवार अनु चौधरी, सुप्रिम मल्ल, कर्ण गिरी र भुवन प्यासी लगायतकाका कलाकारहरुले प्रस्तुती दिने छन् । फुड फेस्टिबलमा ३९ वटा स्टल रहेका छन् ।
पुष १७ , कसरा ।
पुष १ गते देखि राप्ती र नारायणी नदिमा शुरु गरिएको घडियाल गोही अनुगमन कार्य सम्पन्न भएको छ । अनुगमनका क्रममा टोलीले नारायणी नदीमा ३ वटा भाले सहित ११३ घडियाल फेला पारेको छ । भने राप्ती नदिमा पनि ३ भाले घडियाल सहित १५२ घडियाल संख्या रहेको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकारीले जानकारी दिएका छन् । १५ दिन सम्म गरिएको अनुगमनका क्रममा राप्ती र नारायणी नदीमा गरी २ सय ६५ को संख्यामा घडियाल गोही रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको जानकारी दिएको छ । अनुगमन कार्यमा चितवन राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक बिबिधता संरक्षण केन्द्र, सौराहाको गरी जम्मा १० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । घडियाल अनुगमन कार्यमा काठको डुंगा, रवर वोट, जी.पी.एस., क्यामेरा, बाईनाकुलर लगायतका सामग्री प्रयोग गरिएको थियो । साथै उक्त अनुगमनको क्रममा ३ वटा डल्फिन समेत रेकर्ड गरिएको थियो ।