News

पौष १६, हेटौंडा । बागमती प्रदेश सरकारले सन् २०२४ लाई भ्रमण वर्षको रुपमा मनाउने भएको छ । पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य अनुसार सोमबार पत्रकार सम्मेलन गर्दै भ्रमण वर्षको घोषणा गरिएको हो । भ्रमण वर्ष घोषणा गर्दै संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउँदै अर्थतन्त्रलाई समेत गतिशील बनाउने लक्ष्य लिएको बताए । विश्व सम्पदा सूचिमा समेत समावेश भएका यस्ता ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको उचित संरक्षण र प्रचारप्रसार गरी आगामी दिनहरुमा धेरै भन्दा धेरै पर्यटकहरुले भ्रमण तथा अवलोकन गर्ने वातावरणको निर्माण गर्नु भ्रमण वर्षको मूल उद्देश्य भएको उनले बताए । विगतमा कोभिड–१९ को महामारी तथा अन्य विभिन्न कारणले पर्यटन व्यवसाय सुस्ताएकाले त्यसलाई गतिशील बनाउन प्रदेश भ्रमण वर्ष कार्यान्वयनबाट सहयोग पुग्ने मन्त्रालयले विश्वास लिएको छ । भ्रमण वर्षले आनन्द, आतिथ्यता र एकताको साथै कला, संस्कृति, रहन सहन, परम्पराको संरक्षण, सम्वद्र्धन र पर्यटकीयस्थल र सम्भावनाको पहिचान, प्रचार–प्रसार र विकासमा योगदान पु¥याई बागमती प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सहयोगी बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ मन्त्री महर्जनले भने । प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्न भ्रमण वर्ष घोषणा गरिएको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका सचिव गोविन्द रिजालले जानकारी दिए । वर्षको सुरुवात भएसँगै भ्रमण वर्षको घोषणा गरिएको र केही दिनमा नै औपचारिक कार्यक्रम मार्फत भ्रमण वर्षको कार्यक्रमहरु अघि बढाइने उनले बताए । भ्रमण वर्षमा विविध कार्यक्रम गर्नका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेकोमा त्यसलाई विविध कार्यक्रममा विभाजन गरी खर्च गरिने सचिव रिजालले बताए । भ्रमण वर्ष सफल बनाउन श्रव्य दृश्य सामाग्री उत्पादन तथा विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने, प्रदेशका प्रमुख गन्तव्य समेटिएको पुस्तक तथा ब्रोसर तयार गर्ने, पर्यटन वर्षका विभिन्न टिसर्ट, ज्याकेट, स्टिकरलगायत प्रचार सामाग्री उत्पादन तथा वितरण गर्ने, पर्यटकीय नक्सा तयार गर्नेलगायतका कार्यक्रम तय उनको भनाई छ । सचिव रिजालका अनुसार भ्रमण वर्षको अवधिमा मन्त्रालयले भ्रमण वर्षको लोगो, नाराहरु, पर्यटकीय गन्तव्यको विवरण समेटिएको होडिङ बोर्ड लगायतका सामग्रीहरु निर्माण गरिनेछ । बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरुको नक्सा निर्माण गरी वितरण गर्ने, विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिएर पर्यटन प्रवर्द्धनका लागि स्टलहरु राख्ने र प्रदर्शनी गर्ने, विदेशी पाहुना तथा राजदूतहरुलाई बागमती प्रदेश भ्रमण गराउने, विभिन्न पर्यटकीय प्रतियोगिताहरु संचालन गर्ने र सद्भावना दूत नियुक्त गर्ने लगायतका कार्यक्रमहरु भ्रमण वर्षमा संचालन गरिने उनले बताए । भ्रमण वर्षको उद्घाटन समारोहमा २० लाख रुपैयाँ, प्रचार प्रसार अन्तर्गत १० लाख ५० हजार रुपैयाँ, अन्य निकायहरुसँगको समन्वयमा पर्यटन प्रवर्द्धनका कार्यक्रम संचालनका लागि ३० लाख रुपैयाँ, पर्यटकीय गन्तव्यको प्रचार प्रसार सामग्री निर्माणका लागि १५ लाख रुपैयाँ, पर्यटन तथा हस्तकलाका सामग्रीहरुको ब्राण्डीङका लागि ५ लाख रुपैयाँ, पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रमका लागि ३ लाख रुपैयाँ, कार्यालय तथा अन्य कार्यक्रमका लागि ८ लाख रुपैयाँ भ्रमण वर्षभर खर्च गर्ने तयारी मन्त्रालयले गरेको छ । भ्रमण वर्षका लागि बजेट अपुग हुने भएकाले २ करोड रुपैयाँ बढी रकम माग गर्ने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरिएको सचिव रिजालले बताए । जस अनुसार विदेशी पाहुना तथा राजदूतको भ्रमणका लागि १० लाख रुपैयाँ, प्रचार प्रसारका लागि २५ लाख रुपैयाँ, स्थान विशेष पर्यटन प्रवर्द्धनका लागि ७५ लाख रुपैयाँ, अन्य प्रवद्र्धनात्मक कार्यका लागि १० लाख रुपैयाँ, पर्यटन प्रवर्द्धनका लागि काम गरेका व्यक्तिहरुको सम्मानका लागि १५ लाख रुपैयाँ गरी कुल २ करोड ५० लाख रुपैयाँ बढी बजेट माग गरिएको छ ।

चितवन, पुस १६ । चितवन। पोल्ट्रीजन्य वस्तु उत्पादनको हिसाबमा अब्बल साबित हुँदै गएको चितवनमा ११औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइने भएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेको हो । मञ्चको मङ्सिर १९ गते भएको कार्यसमितिको बैठकले मञ्चले सरकारी, निजी क्षेत्र, शैक्षिक क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरी यही पुस १७ गते ११औँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा सप्ताहव्यापीरुपमा मनाउने निर्णय गरेको मञ्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए ।

राष्ट्रिय पोल्ट्री दिवसका दिन अण्डा र मासुको उपयोगिताबारे स्कुल शिक्षा कार्यक्रम, विद्यार्थीहरुबीच प्रतियोगितात्मक कार्यक्रम, चिकेन एण्ड एग फेस्टिबल, खुल्ला भिडियो प्रतिस्पर्धा, प्रभातफेरी र रक्तदान, चितवन प्रवेश गर्ने ३ वटा नाकामा होर्डिङ बोर्ड राखिने मञ्चका महासचिव ज्ञानबहादुर बिसुरालले जानकारी दिए । कार्यक्रमलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न समितिहरु समेत गठन गरिएको छ । नेपाल सरकारले २०७० सालदेखि हरेक बर्ष पुस १७ गते राष्ट्रिय पोल्ट्री दिवस मनाउने परम्पराको थालनी गरेको छ । यसवर्षको राष्ट्रिय पोल्ट्री दिवस मनाउन सरकारी निकाय, स्थानीय निकाय, निजी क्षेत्र, पशु चिकित्सक, शैक्षिक संस्था, पोल्ट्री व्यवसायीहरुबीच सहकार्य गरी आमउपभोक्ताहरुमा मासु र अण्डाको मह¤व बुझाउन समुदायकेन्द्रित कार्यक्रम आयोजना गरिएको महासचिव बिसुरालले बताए ।

चितवन, पुस १६ ।

होटल व्यवसायी संघ चितवनको आयोजनामा क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रममा आइतबार (हिजो) दर्शकहरु स्वप्न सुमनसँग झुमेका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को अघिल्लो दिन आइतबार राति स्वप्न सुमनले ९० मिनेटसम्म दर्शकहरुलाई मनोरञ्जन दिए । स्थानीय व्याण्ड र कलाकारहरुको प्रस्तुतीसँग पनि दर्शकले भरपूर मनोरञ्जन लिए । आजदेखि नयाँ वर्ष २०२४ सुरु भएको छ । फुड फेस्टिबलमा गएराति १ बजेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । आइतबार ३०० रुपैयाँको टिकट काटेरै हजारौँ दर्शक फुड फेस्टिबलमा पुगेको होटल व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश अर्यालले जानकारी दिए । दर्शकले क्याम्पाचौर भरिभराउ भएको थियो । हामीले गरेको अपेक्षा भन्दा धेरै नै दर्शक आउनुभयो’, उनले भने । फुड फेस्टिबलमा आज द स्याडोज व्याण्डको टिम आउँदै छ । आयोजकले आज पनि ३०० रुपैयाँको टिकटको व्यवस्था गरेको छ । पुस १८ गतेसम्म हुने फुड फेस्टिबलमा भोलि र पर्सीका लागि भने टिकट राखिएको छैन । व्याण्डहरुलाई पारिश्रमिक दिएर ल्याइएकाले दुई दिन टिकटको व्यवस्था गर्नुपरेको होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले बताए । फुड फेस्टिबलमा साना ठूला गरी ३९ वटा स्टलको व्यवस्था गरिएको छ । करिब पाँच करोड भन्दा माथीको कारोबार हुने अपेक्षा गरिएको फुड फेस्टिबलमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । 

 

Subcategories