News

मंसीर ६ भरतपुर। 

भरतपुर भ्रमण बर्ष २०२४ ले देशमा पर्यटकीय माहोल सृजना गर्ने सरोकारवालाले बताएका छन्। भरतपुर भ्रमण बर्षको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड काठमाडौंमा गरिएकोमा कार्यक्रममा पर्यटन सम्वद्द व्यक्तिहरुले पर्यटन र समग्र अर्थतन्त्रको चलायमान बनाउन भरतपुर भ्रमण बर्षको भूमिका हुने बताएका हुन्। संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री शुशिला श्रीपाली ठकुरीले पर्यटनको चलायमान बनाउन भरतपुरले शुरु गरेको अभियानमा पर्यटन मन्त्रालयले पूर्ण रुपले साथ दिने बताइन्। अर्थतन्त्र लयमा ल्याउन पनि पर्यटकीय क्षेत्रलाई चलायमान बनाउनुपर्ने उल्लेख सरकारले आर्थिक र नैतिक हिसाबले साथ दिने बताइन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले भरतपुर भ्रमण बर्षकै अवसरमा मेघौलीमा हात्तपोलो शुरु गर्न पहल गर्ने बताए । डा रेग्मीले अन्तर्राष्ट्रिय जंगल सफारि मार्ट पर्यटन बोर्डकै नेतृत्वमा गर्ने तयारी गरेको जानकारी दिए। उनले चितवन राष्ट्रिय निकुञ्ज भित्र होटल संचालन गर्न सरकार तयार हुनुपर्ने समेत बताए ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाका महासचिव कुमार थपलिया र उद्योग बाणिज्य महासंघ पर्यटन समिति संयोजक अशोक गुँरागाईले भरतपुर भौगोलिक रुपमा पनि मध्यभागमा रहेकोले भ्रमण बर्ष सुस्ताएको पर्यटन उकास्नको लागि कोशेढुङ्गा सावित हुने बताए ।
भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण बर्षले चितवन मात्रै नभई देशकै पर्यटनमा टेवा पुर्याउने भएकोले सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताए । उपप्रमुख अधिकारीले सन् २०२४ भित्र सरकारी तथा गैरसरकारी संस्थाका राष्ट्रिय स्तरका कार्यक्रम भरतपुरमा गर्दा महानगरले सहयोग गर्ने नीति लिएको उल्लेख सबै पक्षलाई भरतपुरमा कार्यक्रम गर्न आव्हान गर्नुभयो ।


भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदीले भरतपुरको पर्यटन र यहाँका संभावनाका बारे जानकारी दिए। सुवेदीले चितवन इको टुरिजमका लागि देशकै पहिलो स्थानमा रहेको उल्लेख गर्दै सबै पक्षको सहयोगमा भरतपुर भ्रमण बर्ष सफल हुने बताए । भ्रमण बर्षका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक सोम सापकोटाले सन् २०२४ मा उल्लेख्य पर्यटन चितवन भित्र्याउन हाल ५४ राष्ट्रमा प्रचार अभियान जारि रहेको जानकारी दिए।
भ्रमण बर्ष कार्यसम्पादन समितिका सदस्य सचिव तेजेन्द्र पौडेलले स्वागत गर्दै भरतपुरमा भौतिक बिकास तीव्र भएको र सम्पदाको खानी भएकोले सन् २०२४ मा भरतपुर घुम्न निम्तो दिए।
भरतपुर महानगरले विशेष समारोहको आयोजना गरि अब छिट्टै भरतपुर भ्रमण बर्ष २०२४ को बिधिवत शुभारम्भ गर्दैछ। २०२४ सदस्यीय मूल समारोह समिति,कार्य सम्पादन समिति र विभिन्न उपसमिति गठन गरि भ्रमण बर्षको तयारीका काम भइरहेको महानगरले जनाएको छ।

मंसीर ६ भरतपुर। 

पूर्वी चितवनको खैरहनीमा आज बुधबार बिहान फेला परेको पुरुषको शवको पहिचान खुलेको छ । खैरहनी नगरपालिका वडा नम्बर ९ मा सडक नजिकको झाडीमा फेला परेको शव गोरखाको शहिदलखन गाउँपालिका–९ नाम्जुङ स्थायी ठेगाना भएका ऋषिराम बस्नेत रहेको खुलेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । शव पहिचान भएपछि बस्नेतको परिवार पनि प्रहरीको सम्पर्कमा आइसकेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय मृतक बस्नेत भरतपुरमा बस्ने गर्दथे । नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा उनको शव फेला परेको थियो ।

 

मंसीर ६ भरतपुर। चितवनको भरतपुरमा २ वटा बेवारिसे शव फेला परेका छन् । पुल्चोक गोन्द्राङ सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. ९ मिलनचोक नजिकै केरुङ्गा नहरको पुलमुनी बोरामा प्याक गरिएको अवस्थामा एक महिला र पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो।‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ । दुबै जनाको हात, खुट्टा बाँधिएका अवस्था भेटिएको डिएसपी पण्डितले जानकारी दिए ।

खोलामा माछा मार्न गएका एक व्यक्तिलाई गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए।शवको प्रकृति हेर्दा अन्यत्रै घटना घटाएर भरतपुरमा शव ल्याएर फालेको हुनसक्ने उनको भनाइ छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । शवको सनाखत हुन बाँकी छ ।

Subcategories