तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि उडान अनुमति निलम्बन
काठमाडौँ, असोज २७ ।
पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको उडान अनुमति (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि मनाङ एयरको एओसी निलम्बन गरिएको हो । प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर आज बिहान जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाइँको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२३’ अनुसार हालसम्म नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । ती दुर्घटनामा ९० जनाको मृत्यु भएको छ । पछिल्ला तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त भएका छन् । दुवै दुर्घटना सोलुखुम्बुमा भएका हुन् । गत असार २६ गते मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित छजनाको मृत्यु भएको थियो ।