News


फागुन १, चितवन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा आज भक्तजनको सर्वाधिक सहभागीता देखिएको छ । आज (सोमबार) सार्वजनिक बिदा र नारायणगढ बजार समेत बन्द रहेकाले महायज्ञमा भक्तजनको भीड अहिलेसम्मकै धेरै भएको हो । महायज्ञ आज १९औँ दिनमा आइपुगेको छ ।
महायज्ञमा आज सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । पूर्व मन्त्रीसमेत रहेको भण्डारी कांग्रेसभित्र हिन्दु धर्मको संरक्षण र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने पक्षका नेता हुन् । उनले नदी किनारमा भएको धार्मिक अनुष्ठानले सनातन धर्म संस्कृतिको रक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, महायज्ञको अवलोकन तथा दर्शन गर्न आज योगी पिताम्बर र आमन्त्रित कथावाचक बुद्धिसाग भण्डारी आएका महायज्ञका प्रमुख कथावाचक परशुराम पाण्डेयले जानकारी दिए । महायज्ञमा शनिबारदेखि शिव महापुराण आरम्भ भएको छ ।
श्रीमद्भागवत महापुराण समापन भइसकेको छ भने श्रीमद्देवी भागवत महापुराण हुन बाँकी छ । महायज्ञमा जम्मा तीन वटा पुराण वाचन हुने उनले बताए । महायज्ञ अन्तिम चरणतर्फ लाग्दै गर्दा भक्तजनको सहभागीता बढ्दै गएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको महायज्ञ फागुन १२ गते सम्पन्न हुँदै छ ।

 

माघ २९, काठमाण्डौं ।
चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए। गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो। त्यसपछि आयोगले उपनिर्वाचन मिति तोकेको हो।

चितवन, माघ २८–

भरतपुरको गेष्ट हाउस चौरमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगरपालिका मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई चितवन भेट्रान फुटबल क्लब भरतपुर–७ ले आयोजना गरेको हो । प्रतियोगिताको आज भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर अधिकारीले खेललाई खेलको रुपमा मात्रै सिमित नगरी ब्यबहारमा उतार्नु पर्नेमा जोड दिए । उनले खेलकुदको क्षेत्रमा भरतपुर महानगरपालिका अग्रणी स्थानमा रहेको उल्लेख गर्दै खेलकुदकर्मीहरुले यसको बढी भन्दा बढी फाइदा लिन सबैमा अपिलसमेत गरे ।

भरतपुर महानगरपालिकाले विकास सँगसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको उनले प्रष्ट पारे । स्वास्थ्य जीवनयापनका लागि अन्य क्रियाकलापहरु जस्तै खेल पनि एक महत्वपूर्ण अंग भएको उपमेयरको विचार छ ।

आगामी फागुन ४ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतको कोलकत्तासहित नेपालबाट आयोजक चितवन भेट्रान निलो, चितवन भेट्रान रातो, अभिषेक चर्च भेट्रान रजहर, नागासोती भेट्रान क्लब हेटौँडा, सिमरा भेट्रान सिमराले सहभागिता जनाएको क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भूपू सैनिक जबई स्पोर्टिङ, एक्स महेन्द्र पुलिस क्लब, बगरभाइ खलक भेट्रान, हेटौँडा भेट्रान, फ्रेण्ड्स भेट्रान, दरबार भेट्रान नुवाकोट र थापागाउँ सुधार समिति सहभागी हुने क्लबले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहका शीर्ष टोली फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैयाँ र उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँच–पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी सहभागी हुने छन् ।

 

Subcategories