News

 

काठमाडौं, माघ २८ ।

नेपाल चिकित्सक संघले भोलि आइतबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार राष्ट्रपतिको सवारका क्रममा चिकित्सकमाथि कुटपिट भएको भन्दै संघले आपत्ति जनाएको छ । ‘स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई भीभीआईपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु मात्र नभई हजारौंको संख्यामा स्वास्थ्य सेवा लिन आइरहेका बिरामीहरूलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुरावस्था सिर्जना गरिएकोप्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ’, संघले विज्ञप्ति जारी गर्दै भनेको छ ।

लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ ।

 

माघ २७, भरतपुर ।

भरतपुर महानगरपालिकाको १२ औँ नगर सभा पूरक बजेट र विभिन्न ऐनहरु अनुमोदन गर्दै सम्पन्न भएको छ ।
शुक्रबार बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको अडेटेरियम हलमा भएको नगर सभाले महानगरको विकासका कामलाई तीब्रता दिदै आर्थिक गतिविधिलाई चलयमान बनाउने गरी भएका निर्णयहरुलाई सर्वसम्मत अनुमोदन गरेको छ ।
भरतपुर महानगरपालिकाले शिक्षा ऐन, २०७५ (तेस्रो संशोधन) र भरतपुर महानगरपालिका सहकारी ऐन, २०७५ (तेस्रो संशोधन) लाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
यस्तै मेलमिलापकर्ताहरुको सूचीकरण गर्ने प्रस्ताव पनि सर्वसम्मत अनुमोदन भएको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासको लागि पार्टीभन्दा माथि उठेर विगतको कार्यकालमा काम गरेको र यो कार्यकालमा पनि निश्पक्ष रुपमा काम गर्ने बताउनुभयो ।
मेयर दाहालले भरतपुरको समृद्धिको लागि कुनै पनि योजनालाई अगाडि बढाउन तयार रहेको प्रष्ट पार्नुभयो । भरतपुरमा भईरहेको सन्तुलित विकासलाई निरन्रता दिन अहोरात्रा खट्ने गरेको उहाँको भनाई थियो । भरतपुरलाई एउटा उचाईसम्म पुराएर यो अन्तिम कार्यकाल पुरा गर्ने उद्देश्यका साथ दीर्घकालिन महत्वका विकासका पूर्वाधारलाई प्राथामिकतामा परेको उहाँले बताउनुभयो । मेयर दाहालले करको दर नभई करको दायारा फराकिलो बनाई भरतपुरको अन्तरिक आम्दानीलाई बलियो बनाउन सबै जनप्रतिनिधिहरुले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

माघ २७, भरतपुर ।
भरतपुर महानगरपालिकाले पुरक बजेट ल्याएको छ । १२ औँ नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार बराबरको पूरक बजेट ल्याएको हो । उपमेयर चित्रसेन अधिकारीले पूरक बजेट प्रस्तुत गर्दै उहाँले पूरक बजेट ल्याउँदा थप दायित्व सृजना नहुने बताउनुभयो । अख्तियारी रकम प्रयाप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ ।
थप २४ वटा नयाँ कार्यक्रम तथा शिर्षकहरुमा बजेट परेको हो । पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न आर्थिक सहायता मृगौला डायलासिसका लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपुरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, वेपत्ता तथा घाइते परिवारको लागि २० लाख, विपन्न आर्थिक सहायतका लागि ५ लाख, भरतपुर आँखा अस्पताललाई १ करोड, वडास्तरीय पार्क वडा नम्बर १८ मा ३० लाख, एमआरसी सेण्टर स्थापनाका लागि ८ लाख बजेट छुट्टाइएको छ ।
यस्तै स्मार्ट सिटी माष्टर प्लान निर्माणका लागि १ करोड, मागमा आधरित सडक तथा अन्य पूर्वाधार निर्माणमा ३ करोड, मागमा आधरित ग्राबेलिङका लागि १ करोड, ह्युमपाइप खरिदका लागि ५० लाख बजेट छुट्टाएको छ । महानगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब
८४ करोड ४२ लाख ५६ हजार बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्म चालु तर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजिगत तर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको जनाइएको छ ।
पूँजिगत तर्फ ३५ र चालु तर्फ १७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । महानगरले १ अर्ब ५० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ३४ करोड २९ हजार अर्थात २२ प्रतिशत मात्रै संकलन भएको छ । “स्रोत सुनिश्चत गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौँ”, उपमेयर अधिकारीले भन्नुभयो, “समुन्नत र सुदृद्ध महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।” महानगरले पुरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४ सय रुपैयाँ पुग्नेछ ।

Subcategories