News

चितवन, असार १६ ।

चितवनको रत्ननगर नगरपालिकामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु भएको छ । रत्ननगर–१ स्थित होटल स्टार चितवनमा शुक्रबार देखि सुरु भएको मेलाको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेका हुन् । मेलाको उद्घाटनका क्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताउनुभयो । उहाँले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदातासँग समन्वय गरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको सापकोटाको भनाइ छ । सीप र क्षमता भएका व्यक्ति कोही पनि बेरोजगार बन्नु नपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक पर्ने तालिम लिनुपर्छ । हामीले इन्स्योर परियोजनाअन्र्तगत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौँ ।” कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठकले शैक्षिक योग्यता, दक्षता र क्षमता हुँदाहुँदै पनि रोजगारीको अवसरबाट वञ्चित भएकाले मेलाबाट लाभ उठाउन सक्ने र सीप सिक्न चाहनेका लागि विभिन्न तालिममा सहभागी गराइने बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले रोजगारीको खोजीमा रहेका र रोजगारी दिनेबीच प्रत्यक्ष भेट गराएर रोजगारीको अवसर सिर्जना गर्न मेला कोसेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले मेला अवलोकन गरी लाभ लिन नगरवासीसँग आह्वानसमेत गर्नुभएको छ । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न उद्योगमा अहिले जनशक्तिको अभाव भइरहेको जनाउँदै आवश्यक सीप सिकेर दक्ष बन्न सकेको अवस्थामा एक हजार बढी युवालाई रोजगार प्रदान गर्न सकिने बताउनुभयो । मेलामा रोजगारदाता कम्पनी तथा सीप सिकाउने कम्पनीका गरी गरी ३४ प्रदर्शनी कक्ष छन् । रासस

 


भरतपुर, १५ असार ।
पत्रकार विवेक पोख्रेल युवा आधुनिक सामूहिक खेती फर्मको प्रथम कृषि सम्मान पुरस्कार– २०८० बाट सम्मानित भएका छन्। नयाँ पत्रिका राष्ट्रिय दैनिकमा पाँच वर्षदेखि कार्यरत पोख्रेललाई किसानमा समर्पित पत्रकारिता सेवामा महत्त्वपूर्ण योगदान पु¥याएबापत २०औँ राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको अवसरमा सम्मान गरिएको हो। भरतपुर– २० मा नेपाल समाजवादी महासंघ, युवा आधुनिक सामूहिक किसान फर्म र साकम्भरी ताजा तरकारी कृषि सहकारी संस्थाले संयुक्त रूपमा आयोजित महोत्सवमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र युवा आधुनिक सामूहिक खेती फर्मका अध्यक्ष अधिवक्ता लेखनाथ भुसालले खादा ओडाएर प्रमाणपत्र र नगद १० हजारसहित पोख्रेललाई सम्मान गरेका हुन्।
भरतपुर– २५ रहेको युवा आधुनिक सामूहिक खेतीले यसै वर्षदेखि कृषि सम्मान पुरस्कारको सुरुवात गरेको छ। ०७७ सालमा स्थापना भएको सो फर्ममा २५ युवाले सय बिघाभन्दा बढी जग्गामा खेती गर्दै आएको संस्थाका सचिव सुमन सुवेदीले जानकारी दिए। उनले कृषि सम्मान पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै जाने बताए। कृषिलगायतका विषयमा चितवनबाट पत्रकारिता गर्दै आएका पोख्रेलले कृषि सेरोफेरो र डेरी चौतारी रेडियो कार्यक्रसमेत उत्पादन गर्दै आएका छन्। जुन किसानको विचमा लोप्रिय मानिन्छ । पोख्रेल पश्चिम चितवन पत्रकार मञ्चका सह सचिव समेत हुन् ।

 
 
असार १५, चितवन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषकलाई बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने गरी काम भइरहेको बताउनुभएको छ । 
 
बीसौँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको भरतपुरमा आज आयोजना गरिएको रोपाइँ महोत्सवमा उहाँले आकाशको पानी कुरेर कृषकले धान रोप्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको हो ।  “भरतपुर महानगरपालिकामा सबै खालका खेतीको सम्भावना छ”, उहाँले भन्नुभयो, “धान, गहुँ, तोरी, तरकारी खेतीसहित सबै अन्नबालीको राम्रो उत्पादन भइरहेको छ, त्यसैले अब यहाँका किसानलाई बाह्रै महिना पानीको सुविधा पु¥याउन हामीले काम गरिरहेका छौँ ।” 
 
अहिले महानगरमा सिँचाइको पर्याप्त व्यवस्था गर्न नसक्दा किसान दुःखी भएका उल्लेख गर्दै उहाँले वैकल्पिक व्यवस्था गरेर भए पनि महानगरपालिकाले भूमिगत सिँचाइका साधन बोरिङ, स्यालो ट्युबबेल, ट्युबबेलका माध्यमबाट पानीको सुविधा पु¥याइरहेको बताउनुभयो । “अहिले नारायणी लिफ्ट सिँचाइमा काम भइरहेको छ, त्यहाँ अत्याधुनिक उपकरण जडान भइरहेको छ”, उहाँले भन्नुभयो, “निकट भविष्यमा हामीले त्यसलाई सञ्चालनमा ल्याउनेछौँ, किसानले आकाशको पानी कुरेर बस्नुपर्दैन ।” 
 
आज राष्ट्रिय धान दिवसको अवसर पारेर भरतपुरमा पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री आउनुले पनि यहाँको कृषि क्षेत्रले सबैको ध्यान खिचेको दाहालले बताउनुभयो । भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी देशका शीर्ष नेता यहाँ आउनुले भरतपुरको प्रचारप्रसारमा थप टेवा पुगेको उहाँको भनाइ छ । पूर्वप्रधानमन्त्री तथा नेकपा९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु पनि धान दिवस मनाउन चितवन पुग्नुभएको छ ।
 
महानगरपालिकाले किसानलाई अनुदानमा बीउबिजन उपलब्ध गराउँदै कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उहाँले बताउनुभयो । पछिल्लो पाँच वर्षमा महानगरपालिकाले सात हजार बिघा क्षेत्रफलमा वैकल्पिक व्यवस्था गरेर सिँचाइ पु¥याएको भन्दै उहाँले सिँचाइका लागि मात्रै रु चार अर्ब बढीको आयोजना सञ्चालनमा रहेका बताउनुभयो । 
 
भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुर महानगरपालिले त्रिपुरेश्वर कृषि सहकारीसँगैको सहकार्यमा आज राष्ट्रिय धान दिवसको कार्यक्रम आयोजना गरेको हो । 
 
कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले कृषिको विकास गर्न निरन्तर काम गर्दै आइरहेको बताउनुभयो । “भरतपुर कृषिको आकर्षणको केन्द्र बन्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँको कृषि र पशु विकासको काम देखेर अहिले केन्द्रीय नेताको समेत आकर्षण भएको छ ।” महानगरपालिकाले आन्तरिक बजेटबाट रु १५ करोड कृषि र पशुपन्छीका लागि विनियोजन गरेको अधिकारीले बताउनुभयो । 

Subcategories